तुलसीपुर, १९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि एमाले निकट व्यसायीहरुले राम प्रसाद चालिसेलाई अघि सारेका छन् । नेपाल उद्योग व्यवसायी महासंघ दाङका अध्यक्ष नरेशराज राज भण्डारीको अध्यक्षतामा तुलसीपुरमा बसेको बैठकले वाणिज्य संघका अध्यक्ष चालिसेलाई नै आगामी कार्यकालका लागि अघि सार्ने निर्णय गरेको हो । वाणिज्य संघको एक कार्यकाल कुशलता पूर्वक सम्पन्न गर्नुभएका चालिसे व्यसायीको हकहितका पक्षमा निडरका साथ पैरबी गर्न सक्ने व्यक्तीत्व भएकाले पुनः दोह¥याउन खोजिएको महासंघले जनाएको छ ।

यसैगरी बैठकले पूर्व स्वास्थ्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा ९ सदस्य निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । जसको सदस्यमा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का, माधव वली, टोपबहादुर घर्ती, रामजी चौधरी, मेघराज भुसाल, विनोद शर्मा, मानबहादुर रावत र पदम नेपाली रहनु भएको छ ।
निर्वाचन परिचालन कमिटीले आफुले नेतृत्व लिने गरि अन्य विभिन्न राजनीतिक दलहरुसंग छलफल र संवाद अघि बढाउने छ ।

वाणिज्य संघको निर्वाचनको मिति नजिकीदै जाँदा विभिन्न राजनीतिक दलका व्यवसायीक संगठनहरु पनि आन्तरिक गृहकार्यमा जुटेका छन् । वैशाख २९ गते हुने वाणिज्य संघको निर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । संघको मतदाता संख्या तीन हजार चार ७६ जना रहेका छन् ।