सल्यान, वैशाख १ गते ।
यान्त्रिकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने उद्देश्य अनुरुप सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानहरुका लागि मिनि टिलर वितरण गरेको छ ।

५० प्रतिशत अनुदानमा गाउँपालिकाले समूह, फर्म र सहकारी मार्फत खेती गरिरहेका किसानहरुलाई मिनि टिलर वितरण गरेको हो । शुक्रबार गाउँपालिकामा  १९ वटा मिनि टिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मिनी टिलर प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी हुनुपर्ने बताए । खेतीमा सहजता संगै कम लागतमा धेरै उत्पादन लिनका लागि प्रविधिको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

आफुहरुलाई गाउँपालिकाले प्रोत्साहन गरेको भन्दै गेमी कृषक समूह छत्रेश्वरी ५ की कोषाध्यक्ष निमा बुढाले खेतबारी जोत्ने मेसिन पाएपछि अब काम छिटो हुने विश्वास व्यक्त गरिन् । यस्तै छत्रेश्वरी कृषि सहकारी संस्थाका सहसचिव खड्ग बहादुर खड्काले आफ्नो सहकारीका सदस्यहरुले सामुहिक तरकारी खेती गर्न लागेको भन्दै अनुदानमा प्राप्त मिनि टिलरबाट फाइदा हुने बताए ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले कृषक, कृषि समूह र सहकारीबाट यस प्रकारका उपकरणको माग बढिरहेको छत्रेश्वरी गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानको मिनि टिलर माग गर्दै ८० जनाले आवेदन दिएपनि १९ वटा उपकरण मात्रै वितरण गर्न सकिएको उनको भनाई छ । मिनि टिलर खरिदमा गाउँपालिकाले २५ हजार रुपैयाँ अनुदान दिएको थियो ।

प्रस्ताव आह्वान र माग संगलन गरेर जमिनको भुबनौट लगाएतका विषयमा अनुगमन गरेर यसअघि सो उपकरण खरीदका लागि अनुदान नपाएकालाई पहीलो प्राथमिकता दिइएको पुनले बताए । मिनि टिलर वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएतको सहभागिता थियो ।