चैत ०९, सल्यान ।
३२ औ विश्व पानी दिवसको अवसरमा दार्मा गाउँपालिकामा सुक्दै गएका पानीका मुहानको संरक्षण गर्ने तरिका को जानकारी गराउदै पानी को महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबार विश्व पानी दिवस मनाईएको छ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् ।
‘शान्तिका लागि पानी’ भन्ने नाराका साथ दार्मा गाउँपालिका वास ईकाइको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।