फागुण २३, सल्यान ।
सल्यानको कुमाखमा सम्पन्न भएको गाउँपालिका स्तिरिय अध्यक्ष कपको उपाधी वडा नं २ ले जितेको छ । फागुण १९ गतेदेखी २२ गते संचालन भएको अध्यक्ष कप अन्तर्गतका २० खेलमा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित वडा नं २ प्रथम बनेको हो ।
५ स्वर्ण सहित दोस्रो बनेको वडा नं ३ ले २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै वडा नं १ ले ४ स्वर्ण, ६ रजत र १ कास्य सहित तृतिय बनेको छ ।
बुधबार सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मान बहादुर बुढाथोकीले सबैलाई बधाई दिएका छन ।
उनले खेलकुद मैदानको आवश्यकता भएको महसुस भएको भन्दै खेल मैदान फराकिलो, स्वच्छ, राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरे। केही कमि कमिजोरी भएकोमा क्षामा माग्दै उनले आफू निर्वाचित भएपछि पहिलो पटक कप खेलाएको भन्दै सरकारलाई खेल क्षेत्रमा अझै सकृय बनाउने बताए ।
खेल मैदान आसपासमा खेल खेल्दा शौचालय तथा स्वास्थ्य शिविर आवश्यकता भएको देखेको भन्दै उनले आगामी दिनमा समाधान गरिने बताए ।
कार्यक्रममा उपाध्यक्ष लाल बहादुर रावतले खेल मैदानको अभावका कारण खेलकुद व्यवस्थित गर्न अप्ठ्यारो भएपनि सफल बनाएको खुसी व्यक्त गरेका छन ।
हारजित स्वभाविक भन्दै उनले राष्ट्रिय स्तरमा छनौट हुने सम्भावना भएका खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ ।अनुशासनलाई ख्याल राख्नुपर्ने जनाउदै रावतले छात्राहरूको भलिवल उच्च प्रशंसा गर्न लायक रहेको र हरेक खेलाडीलाई सम्मान गर्नुपर्ने धारणा राखे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काले कप तथा रनिङशिल्डमा मात्रै हैन हरेक बार, हरेक समय खेललाई महत्व दिनुपर्ने बताएका छन । उनले राष्ट्र र स्वास्थका लागि खेलकुद भन्ने कुरालाई सधै ख्याल गरिरहन अनुरोध गरेका हुन ।
वडा नं १ का अध्यक्ष डिल्ली रानाले समयमा नै शिल्डको व्यवस्थापन गर्नुपर्ने भन्दै खेललाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
महिला १० र पुरूष १० गरि सात वटै वडाबाट २० खेलका लागि प्रतिस्पर्धा भएको थियो । भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो का साथै ३ हजार, १५ सय, ४ सय, र १ सय मिटर दौडमा प्रतिस्पर्धा भएको हो । प्रतियोगितामा ६, ५, ७, ४ क्रमशः चौथो, पाचौ, छैठौं र सातौं बनेका छन ।