माघ २३ सल्यान ।
सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) आयोजना सञ्चालन भएका ४ वटा पालिकाहरुमा कार्यरत वाश इकाईका कर्मचारीहरुको लागि विस्तारित खानेपानी सुरक्षा तालिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका, सल्लीबजारस्थित ग्रीन पीस होटेलको तालिम हलमा मंगलबारदेखि शुभारम्भ भएको छ । नगरप्रमुख कर्ण बहादुर बुढाथोकीबाट उद्घाटन भएको उक्त तालिममा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, प्राविधिक शाखा प्रमुख महेश देवकोटा लगायतको उपस्थिति रहेको थियो भने वास सल्लाहकारहरु थरेन्द्र पौडेल, राजकुमार डि.सी. र पवन कुमार वली तालिम सहजकर्ताको रुपमा उपस्थित हुनुहुन्थ्यो । सल्यानको बनगाड कुपिण्डे नगरपालिका, सूर्खेतको भेरीगंगा नगरपालिका, सल्यानको दार्मा गाउँपालिका र सल्यानकै सिद्ध कुमाख गाउँपालिकामा वाश इकाईमा कार्यरत कर्मचारीहरुको लागि तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन सत्रमा आफ्ना भनाई राख्दै बनगाड कुपिण्डे नगरपालिकाका पुर्वाधार शाखा प्रमुख महेश देवकोटाले तालिमको लक्ष्य तथा उदेश्य बमोजिम काम गर्न सके खानेपानी आयोजनाहरु दिगो बनाउन सकिने, पानीका श्रोतहरु संरक्षणमा मद्दत पुग्ने र सुरक्षित पानी उपयोग गर्न सकिने भएकोले तालिमको महत्व भएको बताउनु भयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले यस प्रकारका तालिमहरुले कार्यक्षेत्रमा रही काम गर्न सहजता हुने र लक्ष्य एबम् उदेश्य प्राप्तिमा मद्दत पुग्ने भएकोले सिक्नुपर्ने कुराहरु तालिममा स्पष्ट रुपमा सिक्न सुझाव दिनुभयो । उद्घाटन सत्र समापनको क्रममा आफ्ना भनाई राख्दै नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले परियोजना अन्तर्गत भइरहेका क्रियाकलापहरु संगसंगै पालिकाले खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा अन्य कामहरु पनि गरिरहेको बताउनुभयो । पालिकाले जलश्रोत ऐन पारित गरेको, वाश प्लान बनाएको र खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धमा कार्यविधिहरु बनाएको बताउनुभयो । उहाँले ज्ञान अत्यन्तै महत्वपूर्ण भएकोले सिक्ने, अध्ययन गर्ने वा प्रशिक्षण लिने काममा सक्रिय सहभागी बन्नुपर्ने सुझाव दिनुभयो । तालिममा विभिन्न ४ वटा पालिकाका वास इकाईबाट करीब ३० जनाको सहभागिता थियो । बनगाडमा कार्यरत वास संयोजक गोविन्द प्रसाद शर्माको स्वागत मन्तव्यसंगै शुरु भएको तालिमको उदेश्यमाथि दार्मा गाउँपालिका वास संंयोजक प्रकाश चन्द्र थापाले स्पष्ट पार्नुभएको थियो भने सञ्चालन बनगाडमै कार्यरत वास सहजकर्ता निम प्रसाद बुढाले गर्नुभएको थियो ।

