सल्यान १६ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ÷सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना अन्तर्गत चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ४ वटा ठूला खानेपानी आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ । वडा नं. ३ को पाट्के खानेपानी आयोजना, वडा नं. ४ को किचेन लिसपानी खानेपानी आयोजना, वडा नं. ७ को छहरेखोला रम्चाउन खानेपानी आयोजना र वडा नं. १२ को माझखर्क गाउँ स्वास्थ्य चौकी लिफ्ट खानेपानी आयोजना गरी ४ वटै आयोजनाको निर्माण कार्य माघको पहिलो साताबाट शुरु भएको छ । योजना अभिमूखिकरण, क्षमता विकासका क्रियाकलाप, डिजाइन इस्टिमेट तयार, योजना सम्झौता भएर बाह्य सामग्री खरिद प्रक्रिया पनि अगाडि बढिसकेको छ भने स्थानीय सामग्री संकलन र पाईप लाईन खन्ने कार्य शुरु भएको छ ।

एक घर एक धाराको डिजाईन ईस्टिमेट बमोजिम ३०० भन्दा बढी घरधुरी आयोजनाबाट लाभान्वित हुनेछन् । फिनल्याण्ड सरकार, बनगाड कुपिण्डे नगरपालिका र उपभोक्ता समेतको संयुक्त लागतमा आयोजना निर्माण भईरहेका छन् । ४ वटा आयोजनाको अनुमानित लागत करीब साढे २ करोड रहेको छ । यी योजनाहरुबाट योजना क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य चौकी लगायत सार्वजनिक संस्थाहरु पनि लाभान्वित हुनेछन् । खानेपानी आयोजना संगसंगै घरघरमा शौचालय सुधार, जुठ्यान व्यवस्थापन, हात धुने स्थानको निर्माण, भाँडा राख्ने चाङ निर्माण लगायतका क्रियाकलापबाट सरसफाई र स्वच्छताका क्षेत्रमा सहयोग पुग्ने गरी फिल्डस्तरमा सहजिकरण भईरहेको बताईएको छ । दिगो खानेपानी आयोजना निर्माणका लागि मर्मत सम्भार कोषको व्यवस्था, मर्मत सम्भार कार्यकर्ता परिचालन र अन्य नीतिगत सुधारका कुराहरुमा समेत पालिकाले जोड दिएको छ । दिगो खानेपानी आयोजना निर्माण, सफा एबं सुरक्षित खानेपानी उपयोग र सरसफाई एबम् स्वच्छताका लागि पालिकाले वास प्लान निर्माण तथा जलश्रोत ऐन निर्माण गरेको छ भने वाश ऐन निर्माण सम्बन्धमा पालिकामा छलफल भईरहेको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनुभयो । वास प्लान अन्तर्गत पालिकामा ४१५ वटा योजना रहेको र प्राथमिकताको आधारमा निर्माण गर्दै जाने कुरा नगर उपप्रमुख पुरुषोत्तम आचार्यले बताउनुभएको छ । खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा गर्नुपर्ने कामहरु धेरै भएकोले नगरपालिकाको प्राथमिकताको आधारमा विभिन्न क्रियाकलापहरु अब क्रमशः अगाडि बढ्ने वास संयोजक गोविन्द शर्माले जानकारी दिनुभयो ।