माघ ३, सल्यान ।

बनगाड कुपिण्डे नगरपालिका सल्यानको नवनिर्मित प्रशासकीय भवन बुधवार एक कार्यक्रमका बीच नगर प्रमुख कर्ण बहादुर बुढाथोकीबाट उद्घाटन भएको छ । उक्त भवन निर्माणका लागि २०७७ असार २२ गते तत्कालिन नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मन्जु यरिले शिलान्यास गर्नुभएको थियो । भवन निर्माणका लागि नगरपालिकाको आफ्नै स्रोत बाट ७ करोड २२ लाख लागत स्टिमेट अनुसार भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८ सय ४७ रुपैयामा ठेक्का सम्झौता गरि काम सुरु गरेको थियो । १ वर्ष ६ महिना भित्र काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि कोरोना महामारीका कारण भवन निर्माणमा ढिलाई भएको थियो । भवन निर्माणका लागि ५ करोड १० लाख रुपँया मात्र खर्च भएको इन्जिनियर महेश देवकोटाले बताउनुभएको छ । खर्च भएको रकममध्ये १ करोड ३ लाख स्थानीय पुर्वाधार विकास अन्तर्गत केन्द्र सरकारबाट प्राप्त भएको र बाँकी लागत खर्च पालिकाकै रहेको बताईएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि साविकको देवस्थल गाविसको भवनलाई मर्मत गर्दै प्रशासकीय काम र शाखाहरु भाडामा कार्यालय संचालन हुदै आएका थिए । नवनिर्मित भवन उद्घाटनसंगै अब सोहि भवनबाट सेवा प्रवाह हुने भएको छ ।

नवनिर्मित प्रशासकीय भवन साढे तीन तलाको रहेको छ भने २८ वटा कोठा सहित बैठक हल, ११ वटा शौचालय र ७ घनमिटरको खानेपानी ट्यांकी रहेको इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभएको छ ।
उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले अब नगरपालिकाले एकै स्थानबाट विभिन्न सेवाहरु प्रवाह गर्ने र यसबाट सेवाग्राहीलाइ सहज हुने बताउनुभयो । उहाँले नगरपालिकाको भवन मात्र नभएर नगरभित्र रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवाका भवन लगायत अन्य संरचनाहरु निर्माण गर्नमा जोड दिएको बताउनु भयो । वडा वडा बाट सामाजिक सुरक्षा भत्ता वितरण देखि नगरका गौरवका योजनाहरु समेत संचालनमा ल्याएको बताउनु भएको छ ।
नगरप्रमुख बुढाथोकीले शिक्षा, स्वास्थ्य कृषि, पशु जस्ता कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो । नगर उप प्रमुख पुरुषोत्तम आचार्यले आफ्ना भनाई राख्दै पालिकाबाट दिनुपर्ने सेवा प्रवाहमा निकै कठिनाई भएको र अब भने सहज हुने बताउनुभयो ।
कार्यक्रममा निर्वतमान नगर प्रमुख गोविन्द पुन, निवर्तमान उपप्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पालिकाको भवन निर्माण कार्य महत्वपूर्ण भएको र यसमा सवैको साथ सहयोग रहेको बताउनुभयो । उद्धघाटन कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिकाको प्रशासकीय भवन तथा संरचना निर्माणको लागि जग्गा दान गर्ने जग्गा दाताहरु कोकिला कुमारी बिष्ट, रुमलाल नकाल क्षेत्री, भोनसीं नगाल, जग बहादुर नगाल, खिम बहादुर नगाल, मनविर पुन, बोध बहादुर बिष्ट लाई सम्मान गरिएको छ ।
भवन उद्घाटन कार्यक्रममा पञ्चेवाजा, सेरंगे नाच र स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिएको थियो भने बिभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, समाजसेवी, जग्गादाता, बुद्धिजिवी, सुरक्षाकर्मी, पत्रकार र स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।