पुस १६,सल्यान 
नेशनल लघुवित्त वित्तिय संस्थाद्धारा दार्माका भूकम्पपिडितलाई २५ लाख नगद सहयोग गरेको छ ।
दार्मा गाउँपालिकाको राहत कोषमा ४ लाख र भूकम्प पिडित ६८१ घरपरिवार सेवाग्राहीलाई २१ लाख ५४ हजार नगद सहयोग गरेको हो ।

संस्थाका कार्यकारी निर्देशक राम बहादुर यादवले उक्त रकम दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीलाई हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम बुझ्दै पालिका अध्यक्ष निम बहादुर केसीले भूकम्पको पिडामा सहयोगी हात बढाउन आएकोमा संस्थालाई धन्यवाद दिँदै अप्ठेरो र विपदमा नेपाली एक जुट छन् भन्ने सन्देश दिइरहेको बताउनु भयो ।

वित्तिय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भूकम्पका कारण भएको क्षतिलाई मध्यनजर गर्दै उक्त रकम वितरण गरिएको संस्थाले जनाएको छ । लक्षित वर्गसँग सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पार्ने भूकम्प, बाढी पहिरो, कोभिड लगायत विनासकारी घटनाहरुमा यस वित्तिय संस्थाले वित्तिय कारोबारलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक यादवले बताउनु भयो ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कार्तिक १७ गते राती भूकम्प गएको थियो ।