सल्यान २२ मंसिर ।

सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (सुस्वा) आयोजना, सहयोग ईकाई सूर्खेतको आयोजना तथा सहजीकरणमा मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धी २ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज शुभारम्भ भएको छ । तालिममा कर्णाली प्रदेशका जिल्लाहरुमा भएको महिनावारी सम्बन्धी समस्या, सामाजिक कुरिति लगायत विविध विषयमा छलफल तथा अन्तक्रिया गरिएको छ । आजै परेको पाँचौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस्को सन्दर्भमा कर्णाली प्रदेश र समग्रमा नेपाली महिलाहरुले महिनावारीका कारण भोग्नुपरेका विभिन्न कठिनाईहरु भिडियोमार्फत देखाईएको थियो । महिनावारीलाई मर्यादित बनाउन र अन्धविश्वास एबं नकारात्मक सामाजिक मूल्यमान्यहरु न्यूनिकरण एबम् अन्त्य गर्न तालिमले मदत गर्ने अपेक्षा गरिएको छ । महिनावारी वा रजश्वलालाई महिलाहरुमा हुने सामान्य तथा नियमित प्रक्रियाको रुपमा समाजमा बुझ्न र बुझाउन सक्नुपर्ने बताईएको छ । महिनावारीकै कारण समाजमा महिलाहरुले भोग्नुपरेका विभिन्न समस्याहरु समाधान गर्ने उपायहरुको खोजिका लागि समूहगत रुपमा छलफल र विश्लेषण गरिएको छ । महिनावारी लाई पापको रुपमा बुझ्ने, महिनावारीको समयमा महिलाहरुलाई अरुसरह शौचालय प्रयोगमा रोक लगाउने, दुध दहि लगायतका खानेकुरामा रोक लगाउने, अलग्गै बस्नुपर्ने, करेशावारीहरुमा जाना रोक लगाउने जस्ता विभिन्न क्रियाकलापले गर्दा महिलाहरुले शारीरिक तथा मानशिक रुपमा अँझै पनि विभिन्न समस्याहरु भोग्दै आएका छन् । तालिममा महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने प्याड सहजै उपलब्धता होस् र सुपथ मुल्यमा उपलब्ध गराउन सकियोस् भन्ने उदेश्यले स्यानीटरी प्याड निर्माण गर्ने तरिकाबारे पनि जानकारी दिईएको छ ।

सुस्वा आयोजना सञ्चालन भएका कर्णालीका आठ जिल्लाहरु क्रमशः सुर्खेत, दैलेख, हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट र सल्यान जिल्लामा उक्त परियोजना सञ्चालन भईरहेको छ । नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन र स्थानीय सरकारहरुको संयुक्त साझेदारीमा यो परियोजना सञ्चालन भईरहेको छ । तालिममा प्रशिक्षक तथा विज्ञको रुपमा लामो समय काम गरेका र अनुभवि व्यक्तित्वहरुले सहजीकरण गर्नुभएको छ । पुर्ण सरसफाई सम्बन्धमा गोविन्दराज रोकाय, खानेपानी सुरक्षा योजना सम्बन्धमा प्राविधिक विशेषज्ञ नारायणसिंह खवास, खानेपानी सम्बन्धी विज्ञ किरण दर्नाल र जलबायु परिवर्तन विशेषज्ञ जोहो हापला (Juho Haapala) ले सहजीकरण गर्नुभएको छ भने लैंगिक समानता, अपांगता, सामाजिक समावेशीकरण र मर्यादित महिनावारी लगायत व्यबहार परिवर्तन र समाज सुधारका अभियानमा विज्ञ प्रशिक्षकको रुपमा परिचित राजु तिर्वाले सहजीकरण गर्नुभएको छ । तालिमको समापन शनिवार हुँदैछ ।