मंसिर १६ ,सल्यान
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ ।
शनिबार सल्यानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दैे उहाँले बरु मुलकलाई सुधार गर्दै समाजबादी दिसा तर्फ लिन सकिने बताउनु भयो । हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताउदै उहाँले ‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्व र संकेत देखिएको बताउनु भएको छ । जनता राजतन्त्रको पक्षमा छैनन्, केहि नारा लागेपनि त्यो विस्थापित हुन्छ । नेपाल धार्मिक राज्य बनाउन सकिँदैन । अहिले गणतन्त्रको विकल्प छैन । गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन । यो व्यवस्थाका कमि कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ उहाँले भन्नु भयो ।

पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ तर दुर्गा प्रसाईको अभियान घोर पश्चगामी हो । विदेशी शक्ति केन्द्र भित्र्याउन, अस्थिरता र द्वन्द्वतिर लैजान त यो अभियानले सफलता पाउला तर मुलुक अब पुरानै व्यवस्थातिर जान सकिँदैन । यो व्यवस्थाले सबै किसिमका विचारका लागि खुल्ला रहेको उल्लेख गर्दै महासचिव गुरुङले राजनीतिक कोर्स पूरा भएपनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख उल्लेख गर्नु भयो । पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष बिमला केसी, जिल्ला इन्चार्ज नरेश भण्डारी, जिल्ला समन्वय समितीका उपप्रमुख असविर बुढाथोकी, पार्टीका जिल्ला संयोजक कृति बहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।