सल्यान, ११ मङ्सिर ।
मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ । महिनावारी सम्बन्धी सङ्कुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि दुई दिने तालिमको आयोजना गरिएको हो । छत्रेश्वरी गाउँपालिका, वास इकाईको आयोजनामा सोमबारदेखि सुरु भएको तालिममा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, धामी, झाँक्री तथा पुजारीहरूको पनि सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य संयोजक केशरीदेवी भट्टराई, वास सम्पर्क व्यक्ति मिलन कुमार वली लगायतको सहभागिता थियो । महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले धामी तथा पुजारीहरूलाई पनि तालिममा सहभागी बनाइएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । घरेलु प्याड निर्माण तालिम सँगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखीकरण गरिने उनले जनाए ।
वास संयोजक निमराज केसी र पुष्पा केसीले तालिममा प्रशिक्षण तथा अभिमुखीकरण गरिरहेका छन् । छत्रेश्वरी गाउँपालिका र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता ९सु स्वा० परियोजना अन्तर्गत मर्यादित महिनावारी प्रवर्द्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको गाउँपालिकाका वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।
सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन
यसैबिच छत्रेश्वरीमा सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन गरिएको छ । छत्रेश्वरी–६ लान्तीमा भएको कार्यक्रममा कम पानी चाहिने सुधारिएको शौचालय निर्माणका लागि नयाँ स्याटोका उत्पादित सामग्रीहरूको प्रदर्शन गरिएको हो ।
अशक्त, अपाङ्गता भएका, बालबालिका, ज्येष्ठ नागरिक लगायतका प्रयोगकर्तामैत्री सुधारिएको शौचालय निर्माण गर्न जरुरी रहेको भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सरसफाइ र स्वच्छता अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
सु स्वा आयोजनाका सरसफाइ विज्ञ गोविन्द रोकायले स्याटो उत्पादनका नयाँ सामग्रीहरुः आइ ट्रयाप, स्टुल, स्याटो प्यान, स्याटो हात धुने स्थान र एडप्टरको प्रदर्शन सँगै, यी सामग्रीका विशेषता र प्रयोग गर्ने तरिकाको बारे जानकारी गराएका थिए । उनले स्याटोका सबै सामग्रीहरू उच्च गुणस्तरको पोलिप्रोपिलिन प्लास्टिकबाट बनाइएको हुने बताएका छन् ।
