सल्यान, ९ मंशिर ।

नवौं उद्योग दिवसको अवसरमा सल्यानका दुई उद्यमी सम्मानित भएका छन् । शनिबार श्रीनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट उद्यमीको रुपमा ईतिहास कृषि आरन तथा खुकुरी उद्योग शारदा नगरपालिका १ का उद्यमी इन्द्र बाबु थापा विक र दिपा कटाई सिलाई सेन्टर बागचौर २ का उद्यमी दिपा खत्री सम्मानित भएका हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, विकास र विस्तारबाट वेरोजगारीको स्थिती अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले स्थानीय उद्योगहरुबाट उत्पादिन सामग्री प्रयोगमा बढावा दिनुपर्ने बताए । कार्यक्रममा शारदा नगरपालिका सल्यानका उपप्रमुख सुस्मीता सापकोटा, राष्ट्रिय भूमी आयोग सल्यानका अध्यक्ष बीर बहादुर सेजवाल, निमित्त प्रमुख जिल्लाअधिकारी थमन खड्काले बोल्दै देशको आर्थिक विकास र समृद्धिका लागिउद्योग क्षेत्रको विकास अपरिहार्य रहेको बताएकाथिए । यस्तै उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष भरत बस्नेत, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी लगाएतले बोल्दै आयातमुखी अर्थतन्त्रको हालि मुहालीलाई अन्त्यगर्दै सल्यानको पहिचान र आर्थिक समृद्धिसंग जोडिएका उत्पादनहरुको ब्राण्डीङ तथा बजारीकरणमा जोड दिएका थिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण देवकोटाले आफ्नो कार्यालयमा हाल सम्म ३ हजार ५४२ वटा उद्योग दर्ता भएको उल्लेख गरे । जस मध्ये २११ वटा उत्पादन मूलक, ५०९ वटा सेवामूलक, १ हजार ५४८ वटा कृषि तथा वनजन्य र ३०७ वटा पर्यटन संग सम्बन्धीत उद्योगहरु दर्ता भएको उनले जनाए । उनका अनुसार गत साउनयता ४८ वटा उद्योगहरु दर्ता भएका छन् । स्वदेशी उत्पादनको अभियानलाई सार्थक बनाउन र उद्यमीहरुको सम्मान गर्दै यस क्षेत्रको विकास मार्फत गरिवी न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको कार्यालयका सूचनाअधिकारी ध्रुब बहादुर खत्रीले जानकारी दिए ।