कार्तिक २५ सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ मा प्रथम वडा अध्यक्ष कप सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको वडा अध्यक्ष कप प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । अध्यक्ष कप प्रतियोगितामा बिभिन्न खेलहरु खेलाईएकोे थियो । जस मध्ये वडा स्तरिय टोल बिकाश संस्था अन्तर्गतको भलिबल प्रतियोगितामा दवाङ चिन्नेखोला टोल बिकाश संस्था प्रथम भएको छ । त्यस्तै आदर्श टोल बिकाश संस्था गाँडापानि दोश्रो र जनचेतना टोल बिकास संस्थाले तेस्रो स्थान हात पारेका छन् । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई १५ हजार, १२ हजार र ८ हजार नगत, मेडल, कप र प्रमाणपत्र दिईएको छ । त्यस्तै डोरी तान्ने प्रतियोगितामा जनचेतना टोल बिकास संस्था प्रथम, सृजनशिल टोल बिकाश संस्था दोस्रो र दवाङ चिन्नेखोला टोल बिकाश संस्थाले तेस्रो स्थान हात पारेका छन् । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई २ हजार, १५ सय, १ हजार नगद सहित प्रमाणपत्र दिईएको छ । भाले खाने प्रतियोगितामा दिपक बस्नेत बिजेता बनेका छन् । त्यस्तै स्लो बाईक रेसमा कविराज बुढा बिजेता बनेका छन भने महिला घैटो फोरमा कृष्णा घर्ती बिजेता बनेकी छन् ।
कपुरकोट गाउँपालिका वडा नं.४ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप कार्यक्रममा जेष्ठ नागरिक सम्मान, मौलिक कला संस्कृति संरक्षण लगायतका कार्यक्रमहरु भएका थिए । वडा अध्यक्ष कप खेलकुद अन्तर्गत भलिबल प्रतियोगितामा विभिन्न टोल बिकाश संस्था बाट १५ वटा टिमले सहभागिता जनाएका थिए । भलिबल प्रतियोगितालाई सफल बनाउन र सहजता ल्याउन रेफ्री अशोक बाँठा र प्रशान्त डाँगीले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन उपाध्यक्ष प्रकाश भण्डारी लगायत वडा तथा पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई समापन गर्दै सोही वडाका वडा अध्यक्ष मित्रलाल कठायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने गा.पा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत वडाका जनप्रतिनिधि, सम्पुर्ण वडा भित्रका टोल बिकाश संस्थाका पदाधिकारीहरु, आमा समूहहरु, खेलाडीहरु लगाएत विभिन्न तह र तप्काका व्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । समापन कार्यक्रमको संचालन वडा नं.४ का वडा सचिव हिरामणी घर्तिले गरेका थिए ।