काठमाडौँ, कात्तिक १० गते । दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारी साधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनु पर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ । नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढे सँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । यस वर्ष दसैँको अवसरमा उपत्यका बाट १६ लाख भन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्ट देखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यका भित्र चल्ने सवारी समेत बाहिरी जिल्ला तर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवत जावतमा केही असहज भएको देखिएको छ ।