भाद्र ३१, सल्यान ।

सल्यानको त्रिवेणी गाउँपालिका २ धामी ढुंगामा ग्यास लिक भएर मृत्यु भएको भनिएका आमाछोरीको हत्या भएको आशंका गरिएको छ । शनिबार बिहान घरमा मृत फेला परेका ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको शव घरमै जलेको अवस्थामा फेला परेको थियो । सुरुमा स्थानीय र प्रहरीले ग्यास लिक भएर आगलागीमा मृत्यु भएको अनुमान गरेपनि पछि घटनाको शंकास्पद रहस्य थपिदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार आमाछोरी दुवैजनाको बेडमा आगोले जलेर मृत्यु भएको देखिएको छ । तर आगो कसरी सल्कियो भन्ने देखिएको छैन् । कोठमा रहेको ग्यास लिक नभएको भेटिएको हो ।

‘मृतक बस्ने एकतले टिनले छाएको घरमा एउटा मात्रै कोठा छ । कोठामा दुइवटा ढोका छन् । एउटा ढोकाको बाहिरबाट चुल्कुन लगाएको छ भने अर्को ढोकाको भित्रबाट चुल्कुन लगाएको छ’, डिएसपी कार्कीले लेकाली अनलाइनसँग भने ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछी शव पोष्टमार्टमका लागी नेपालनञ्ज लगिएको छ । ती आमाछोरीको हत्या गरिएको हुनसक्ने आशंकामा घटनाको वास्तविकता पत्ता लगाउन सहज होस भन्ने उदेश्यले सुविधा सम्पन्न अस्पतालमा पोष्टमार्टमका लागी शव पठाइएको डिएसपी कार्कीले बताए ।

घटना पत्ता लगाउन नेपालगञ्जबाट तालिम प्राप्त कुकुर समेत ल्याएर प्रहरीले शनिबार अनुसन्धान गरेको थियो। तर कुकुरबाट भने त्यस्तो कुनै नतिजा आउन सकेन् ।

शनिवार बिहान अबेरसम्म आमाछोरी नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा उनिहरुलाइ फेला पारेका थिए । त्यसपछि उनिहरुले प्रहरीलाइ खबर गरेका थिए । घटनाबारे थप सोधपुछका लागि प्रहरीले छिमेकी मृतककी जेठान दिदिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ । शव पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाबारे थप भन्न सकिने प्रहरीको भनाई छ । मृतकका श्रीमान रोजगारीको शिलसिलामा भारतमा रहेका छन् ।