सल्यान, ११ असार । सल्यानको कालिमाटी गाउँपालिकाले खरको छाना विस्थापन संगै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, विद्युतीकरण, खानेपानी तथा सिंचाई लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँसभाका अध्यक्ष दान बहादुर केसीले आगामी आर्थिक वर्षका लागि पेश गरेको ४३ करोड बढिको बजेट आवश्यक संशोधन सहित गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । बजेटको अनुमानित आय तर्फ संघीय वित्तिय समानिकरण अनुदानबाट नौ करोड २६ लाख, संघीय राजस्व बाँडफाडबाट १० करोड ८६ लाख ३९ हजार र संघीय सशर्त अनुदान चालु तर्फ १८ करोड १५ लाख तथा पुँजीगत तर्फ दुई करोड ५६ लाख रहेको छ । यस्तै कर्णाली प्रदेश सरकारबाट समानिकरण अनुदानतर्फ एक करोड दुईलाख ८५ हजार, प्रदेश राजस्व बाँडफाडतर्फ नौ लाख ४१ हजार, आन्तरिक आय तर्फ ५७ लाख ३८ हजार पाँच सय र बैंक मौज्दात ४८ लाख गरी जम्मा ४३ करोड एक लाख तीन हजार पाँच सय बराबरको बजेट गाउँपालिकाले पारित गरेको हो । गाउँसभाले विधायक समितिका संयोजक बेल बहादुर चन्दले पेश गरेको आर्थिक ऐन २०८० र विनियोजन ऐन २०८० पनि सर्वसम्मत रुपमा पारित गरेको छ । रोजगार, भुमि व्यवस्था, पर्यटन, पशु विकास, बैकल्पीक उर्जा, सुशासन लगाएतका क्षेत्रलाई समेत बजेटले प्राथमिकता दिएको छ । विपन्न घरपरिवारको खरको छाना विस्थापन गरेर जस्ता पाता लगाउनको लागि कालिमाटी गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै ग्रामीण बिद्युतीकरणको लागि ८० लाख छुट्याएको गाउँपालिकाले स्थानियस्तरमा रोजगारी सृजना गर्न अध्यक्ष रोजगार कार्यक्रमका लागि २० लाख रुपैया विनियोजन गरेको छ । यस्तै गाउँपालिकाको प्रशासकिय भवनका लागि एक करोड, कोटबयालेमा लिफ्ट प्रणालीको सिंचाइ र खानेपानी योजनाको लागि ६० लाख विनियोजन गरेको छ । पैयाकांडा किमिरे सडक निर्माणका लागि समपुरक लगानी तर्फ ७५ लाख, खानेपानी तर्फ ३५ लाख, सडक मर्मतका लागि ३१ लाख र पालिकाको जग्गा प्राप्तिका लागि २५ लाख विनियोजन गरिएको छ । लक्षित वर्ग देखि सामाजिक कुरिती अन्त्य गर्न, आरन सुधार र विभिन्न सचेतनामुलक कार्यक्रमका लागि पनि कालिमाटी गाउँपालिकाले बजेट विनियोजन गरेको छ । अनाथ बालबालिकाको व्यवस्थापनका लागि ४ लाख, विद्यार्थी संग पालिका कार्यक्रमको लागि ५ लाख, कला संस्कृति संरक्षणमा ९ लाख, लोक सेवा कक्षा संचालनका लागि ५ लाख रुपैया गाउँपालिकाले विनियोजन गरेको छ । विश्वकै होंचो व्यक्तिको रुपमा गिनिज बुकमा रेकर्ड राखेका कालिमाटी निवासी स्वर्गीय चन्द्र बहादुर डांगीको नाममा प्रतिष्ठान संचालन गर्न ११ लाख छुट्याएको गाउँपालिकाले किसानलाइ उत्पादनमा आधारित अनुदानमा २० लाख, अध्यक्ष कृषक सम्मान कार्यक्रमका लागि ५ लाख रुपैया विनियोजन गरिएको छ । भुमिहिन र अव्यवस्थित बसोबासको नाप नक्सा निर्माणका लागि २५ लाख, पोषण मैत्री कार्यक्रमका लागि १० लाख, सहकारी व्यवस्थापनका लागि ५ लाख रुपैया कालिमाटी गाउँपालिकाले विनियोजन गरेको छ । १४ औं गाउँसभाले गाउँसभा मातहतका ५ वटा विषयगत समिती गठन गरेको छ । सभाबाट शिव बहादुर खत्री संयोजक रहेको अर्थ तथा सार्वजनिक लेखा समिती, बेल बहादुर चन्द संयोजक रहेको बिधान समिती, टंकी परियार संयोजक रहेको सामाजिक समिती गठन गरिएको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले बताए । यस्तै टेकराज पुलामी संयोजक रहेको सुशासन तथा स्थानिय सेवा समिती र बिष्णु वली राजी संयोजक रहेको कृषि, पर्यटन, पुर्वाधार तथा प्राकृतिक श्रोत समिती गठन भएको उनले जानकारी दिए ।
