सल्यान, २३ जेठ ।
नेपाली कांग्रेस कपुरकोट गाउसमितिले कृषिजन्य वस्तुको निकासी कर नलगाउन स्थानीय सरकार कपुरकोट गाउँपालिकालाई अनुरोध गरेको छ ।
कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुमा प्रति किलो २५ पैसा निकासी कर लगाउने तयारी थालेको भन्दै नेपाली कांग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले आपत्ती जनाएको हो ।
कांग्रेस कपुरकोटका सभापति एकराज वलीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले कृषि उपज बजार संचालक समितिलाई फाइदा पुग्ने तथा कृषि उत्पादनको मुल्यमा गिरावट ल्याउने प्रयास गरिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
ध्यानाकर्षणपत्रमा बेमौसमी कृषि उत्पादनका लागि रासायनिक मल, उन्नत तथा हाइव्रिट बिउविजन, विषादी सुलभ रुपमा किसानलाई उपलब्ध गराउनुपर्ने र उचित मुल्य सहितको बजारीकरणको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै कृषि यन्त्र, सिचाइ तथा उचित किसिमको बजारिकरणका लागि एकिकृत तथा प्रतिष्पर्धात्मक कृषि उपज बजारको व्यवस्था, बजारको अनुगमन तथा रेखदेख, विषादीको उचित प्रयोगबारे ज्ञानको विस्तार र खास कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
कपुरकोट कृषि उपज बजार संचालक समितिले विगत ६ वर्षदेखी कुनै पनि बजार व्यवस्थापनको काम नगरेकोले सञ्चालक समितिको पुनःगठन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गराउन गाउँपालिकाले पहल गर्नुपर्ने माग गरिएको छ । कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक नीति कार्यक्रम तय गरी बजेट विनियोजन गर्न पनि कांग्रेस कपुरकोटले गाउँपालिका संग माग गरिएको छ ।
कांग्रेस कपुरकोटका उपसभापति टिकाराम केसीको नेतृत्वमा पार्टी सचिव तिलक देवकोटा, प्रवक्ता कुवेर खत्री, वडा नम्बर ३ का सभापति प्रदिप खड्का, वडा नम्बर ४ का सभापति रत्नलाल वली, ५ का सभापति यज्ञ वोहरा, कमल घर्ती, खड्क केसी लगाएतले गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
