सल्यान २८ फाल्गुण ।
विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा सल्यानको प्रथम जिल्ला सभा सम्पन्न भएको छ । तदर्थ समितिका जिल्ला अध्यक्ष श्री गोविन्द प्रसाद शर्माको अध्यक्षता तथा सनातन सम्पदा संरक्षण समिति प्रदेश समिति लुम्बिनीका अध्यक्ष डा. भोलानाथ योगीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनसंगै शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि योगीले हिन्दु धर्मभित्र ज्ञानको विशाल भण्डार रहेको र हाम्रो जीवनशैलीसितै जोडिएकोले संकुचित अर्थमा बुझ्न नहुने बताउनुभयो । महासंघलाई देशव्यापि र हिन्दूधर्मको छाता संगठनको रुपमा अगाडि बढाउन सवै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष ऋषिकेशजंग शाह, केन्द्रिय सदस्य गुमानसिंह बस्नेत र लुम्बिनि प्रदेशमा रहेर विभिन्न सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका खुमानन्द अधिकारी लगायतको सहभागिता थियो । त्यस्तै सभामा शारदा नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रदिप पाण्डे, उद्योग वाणिज्य संघ श्रीनगर सल्यानका अध्यक्ष कुमार बुढाथोकी लगायतले शुभकामना दिनुभयो । साथै मन्तव्यको क्रममा धर्म तथा संस्कृति संरक्षणमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा पनि जोड दिनुभयो । प्रदेश अध्यक्ष ऋषिकेशजंग शाहले हिन्दु धर्म नेपालको पहिचान र गौरबको विषय भएकोले अब विश्वविद्यालयहरुमा पठनपाठन गराउनुपर्ने, विद्यापिठहरु सञ्चालन गर्नुपर्ने गाईको महत्वलाई बुझेर गौसंरक्षणमा जोड दिनुपर्ने लगायतका विषयमा प्रष्ट पार्नुभयो ।तदर्थ समितिका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्माले जिल्लामा हालसम्म भएगरेका क्रियाकलापको आर्थिक तथा प्रगति प्रतिवेदन पेश तथा सभावाट पारित भएपछि नयाँ कार्यकारिणी समिति पनि सर्वसम्मत भएको छ । सभाबाट निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा आनन्द कुमार शाह, वरिष्ठ उपाध्यक्षमा सन्तोष कुमार राई, विधान बमोजिम ३ जना उपाध्यक्षहरुमा क्रमशः नारायणप्रसाद शर्मा, अम्बरकुमार शर्मा, विरेन्द्र प्रकाश भण्डारी चयन हुनुभएको छ । त्यस्तै सचिवमा चेतकान्त उपाध्याय शर्मा, कोषाध्यक्षमा रामसिंह बुढाथोकी चयन हुनुभएको छ भने ३ जना सहसचिवमा क्रमशः शिवकुमार शर्मा, शुसिला शर्मा र तेज बहादुर श्रेष्ठ हुनुभएको छ । त्यस्तै बाँकी ३४ जना सदस्यसहित ४७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । सभामा मठ मन्दिरका संस्थापक, सल्लाहकार र अध्यक्षहरु, ज्येष्ठ नागरिक, विश्व हिन्दु महासंघका आजिवन सदस्यहरु, साधारण सदस्यहरु, सल्लाहकार सदस्यहरु, स्थानीय व्यापारी, बुद्धिजिवी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सन्तोष कुमार राई र शुभकामना मन्तव्य चेतकान्त उपाध्याय शर्माले गर्नुभएको थियो ।
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको विधान बमोजिम गठित जिल्ला कार्यसमितिले २०६२ सालदेखि नै विविध क्रियाकलाप गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयबाट विधानबमोजिमको शाखा सञ्चालनको स्वीकृति पाएको आधारमा प्रथम जिल्ला सभा सम्पन्न भएको हो ।