राजेन्द्र रावत
सल्यान १०, असार ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाको १२ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्ष्यतामा भोटेचौरमा गाउँसभा सम्पन्न भएको हो ।
सभाले आगामी आर्थिक बर्ष २०७९÷८० को लागी अध्यक्ष ओज बहादुर बुढाथोकीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष बुद्धा केसीले प्रस्तुत गरेको बजेट वक्तव्य सर्वसम्मतिले पारित गरेको छ । गाउँसभामा उपाध्यक्ष बुद्धा केसीले आगामी आवको लागी ४९ करोड, ५१ लाख, ६२ हजार, ४ सय ९४ रकमको बजेट पेश गरेकी छन ।
जसमा संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान १० करोड २१ लाख, सशर्त अनुदान तर्फ चालु १८ लाख, पुुजिंगत १ करोड र राजस्व बाँडफाड ८ करोड ८९ लाख ७५ हजार रहेको छ ।
प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाँडफाडमा ७ लाख ६५ हजार ४ सय ९४, प्रदेश सशर्त अनुदानमा १ करोड ९० लाख ४० हजार र आन्तरिक स्रोत ४ करोड ३७ लाख ४० हजार रहेको छ ।
छत्रेश्वरी गाउँपालिकाले नीति कार्यक्रममा शिक्षालाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ ।
विहिबार गाउँसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा कृषि तथा पशुपालन तर्फ उत्पादन र उत्पादकत्वमा वृद्धि, अनुदान, चिस्यानकेन्द्र निर्माण, टिमुुर तथा अदुवाको प्रशोधन केन्द्र स्थापना, उत्पादनमा प्रोत्साहन, उत्कृष्ट कृषकलाई सम्मान जस्ता कार्यक्रम समेटिएको छ ।
गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले १२ औ गाउँसभामा बजेट विनियोजनमा भौगोलिक विकटता र जनसंख्यालाई मुख्य आधारको रुपमा लिएको बताएका छन । नीति कार्यक्रममा पशुपालन, फलफुुल खेती, सिचाईको व्यवस्थापन गरिदै किसानहरुलाई कम्पनी, फर्म, समूह र सहकारीमा आवद्ध गराईने नीति लिइएको छ ।
उद्यमशिलता विकासको माध्यामबाट रोजगारी र आत्मनिर्भर उद्यमीलाई प्रोत्साहनको नीति लिइने जनाइएको गाउँपालिकाले खानेपानी र सरसफाईका लागि वास योजना तयार गरी साझेदार संस्थासंग सहकार्य र समन्वय गरी पानीको समस्या समाधान गर्नेछ । जेष्ठ नागरिक सम्मान, परम्परागत ज्ञान सिप र अनुभवको हस्तान्तरण, उपाध्यक्षसंग लक्षित वर्ग उत्थान कार्यक्रम जस्ता लक्षित विकास तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति लिइएको छ ।
एक बच्चा जन्मदा २ विरुवा रोप्ने नीति लिएको छत्रेश्वरीले वन बाताबरण संरक्षण, वृक्षारोपण, तटबन्ध निर्माण जस्ता काम गर्नेछ भने गाउँपालिकाका सडकको वर्गिकरण गरि प्राथामिकता निर्धारण गर्न सडक गुरु योजना बनाइने जनाइएको छ । शिक्षालाई प्रविधिसंग जोड्न एक शिक्षक एक ल्याप्टपको अवधारणा अनुसार ५ बर्ष भित्र गाउँपालिका सबै शिक्षकलाई ल्याप्टप कम्प्यटुुर वितरण गरिनेछ भने बालबालिकासंग अध्यक्ष कार्यक्रम मार्फत शैक्षिक सुधारका कार्यक्रम तय गरिएको छ ।

विद्यालय कर्मचारीका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने जनाएको छत्रेश्वरीमा कक्षा १–८ मा हाम्रो छत्रेश्वरी विषयको स्थानीय पाठ्यक्रम यहि बर्ष तयारी गरि २०८० बाट कार्यान्वयनमा ल्याइनेछ ।
एम्बुलेन्सको २४ सै घण्टा व्यवस्था गर्ने जनाएको नीति कार्यक्रममा काखमा बच्चा हातमा भत्ता र उपाध्यक्ष सुत्केरी कोसेली उपहारू जस्ता कार्यक्रम समेटिएको छ ।
आयुर्वेद तथा बैकल्पीक चिकित्सा सेवाको दायरा बढाउदै लिइनेछ भने श्रम सहकारी र खाद्य बैक जस्ता कार्यक्रम पनि संचालन गरिनेछ ।
पर्यटन प्रवद्र्धन गर्न धार्मिक, प्राकृतिक तथा कृषि पर्यटनलाई विशेष जोड दिइनेछ भने गाउँपालिकामा भएका गतिविधिको सोहि दिन सार्वजनिक गरिनेछ । वेरुजु न्यूनिकरण गर्दै विगतमा भएका वेरुजु दाखिलाका लागि ताकेता गरि बेरुजु शुन्य नीति लिईनेछ भने सार्वजनिक सेवा प्रवाहलाई नागरिकको पहुचयोग्य बनाइने छ । १६ बुदाका साथै विभिन्न उपबुदामा प्रस्तुत गरिएको नीति कार्यक्रममा विकासमा साझेदारी गर्ने गैर सरकारी संस्थालाई प्रोत्साहन गर्ने जनाइएको छ । बजेटमा सार्वजनिक सेवा प्रवाहमा नागरिक पहुच अभिवृद्धि गर्ने, फराकिलो आर्थिक वृद्धि मार्फत दिगो विकास र सुशासनको प्रत्याभुती गराउने, सार्वजनिक सेवामा नागरिक पहुच वृद्धि गर्ने, रोजगारी सृजना र आयआर्जनका माध्यामबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउने तथा दीगो समावेशी उच्चदरको आर्थिक वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य तथा प्राथामिकता छन ।
सभाले आगामी आर्थिक बर्ष २०७९।८० को लागी अध्यक्ष ओज बहादुर बुढाथोकीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष बुद्धा केसीले प्रस्तुत गरेको बजेट वक्तव्य सर्वसम्मतिले पारित गरेको छ ।
सदस्यहरुले दिएका सुझावहरु समेट्ने गरि सैद्धान्तिकरुपमा बार्षिक निति, कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले बताए । वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सरोकारवालाको सहभागिता रहेको उद्घाटन कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत प्रदिप खनाले गरेका थिए ।
गाउँसभाका तस्विरहरूः



