असार ३,सल्यान ।

सल्यानका युवायुवती सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । जिल्लाको शारदा नगरपालिका भित्रका युवायुवतीहरू सिप सिकेर स्वरोजगार बन्न थालेका हुन ।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिकेको शारदा नगरपालिका ९ की गङ्गा बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो ‘सिप सिक्छौँ ।आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ गाउँमा बसेर सिप नसिक्दा बेरोजगार बन्नु परेको पिडालाई सम्झँदै उहाँले हातमा सिप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताउनु भयो ।

शारदा नगरपालिकाले गुडिया बनाउने र बाँसका सजावटका सामाग्री निर्माण सम्बन्धी तालिम प्रदान गरेको छ ।

तालिमबाट सिकेको सिपलाई उपयोग गरी स्वरोजगार बन्ने सोच बनाएको गौरीलाल पुनले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ । सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका छौँ ।’

बेरोजगार युवायुवतीहरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत सिपमुलक तालिम दिई रहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामीले तालिम मात्र दिँदैनौँ व्यावसायिक बनाउने योजना सहित काम गरी रहेका छौँ ।’ तालिमबाट सिकेको सिपलाई तालिममा मात्र सीमित राख्ने भन्दा पनि सिपलाई आर्थिक उपार्जनसँग जोड्न उहाँले सबैलाई आग्रह गर्नु भयो ।