वैशाख २७,सल्यान ।

अहिले गाउँ सहरमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन ।

उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् ठुलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडा सदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्न सक्ने अवस्था छैन । दार्मा गाउँपालिका–२ का रमेश रोकायले यसपालि मतदान गर्न पाउने भएका छन् तर उनलाई कसरी मतदान गर्ने जानकारी छैन ।

पहिलो पटक मतदानमा भाग लिने मात्र होइन, यसअघि मतदान गरिसकेका शारदा नगरपालिका–१, शान्तिनगरका २८ वर्षीय दीर्घ बादीले पनि आफूलाई मतदाता शिक्षाको आवश्यकता भएको बताए । उनका अनुसार मत माग्न दलहरू घरघरमा आए पनि सही किसिमले मतदान गर्न सिकाएका छैनन् ।

यहाँ दलहरूले घरदैलो अभियान सञ्चालन गरे पनि मतदान गर्ने तरिका सिकाउने भन्दा मत माग्न हिँड्ने गरेका छन् । कालीमाटी गाउँपालिका–३ का झुपलाल खत्रीले चुनावी चहलपहल बढेको भए पनि मत बदर गर्न मतदाता शिक्षामा जोड नदिएको बताए । उनका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवार बनेका व्यक्ति घरदैलोमा आए पनि मतदाता शिक्षा दिन सकेका छैनन्  ।

जिल्लामा ४३५ पदमा विभिन्न राजनीतिक दल र स्वतन्त्र सहित एक हजार ४८१ उम्मेदवार रहेका छन् । १० वटा स्थानीय तहमा एक लाख ५७ हजार मतदाता रहेका छन् ।

बदर मत बढ्ने

जिल्ला निर्वाचन कार्यालय सल्यानमा मतदान स्थलमा खटिने कर्मचारीलाई नमुना मतदान गरायो । मतदान स्थलमा खटिने कर्मचारीले नै गरेको मत बदर भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितको कर्मचारीले नै मत बदर गरेपछि सर्वसाधारण गर्ने मत बदरको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । २६ मतदाताले मतदान गर्दा ३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए ।

यस्तै बागेश्वरी असल शासन क्लबले आयोजना गरेको नमुना मतदानमा बदर मतको सङ्ख्या धेरै पाइएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा गरिएको नमुना मतदानमा २८ जनाले मतदान गरेका थिए । २८ मतमध्ये १८ सदर र १० मत बदर भएको हो । बागेश्वरी असल शासन क्लब नेपालकी केन्द्रीय सदस्य मेघा रेउलेले मतदानमा भाग लिँदा मतदातामा आत्मविश्वासको कमी र मतदाता शिक्षाको कमी रहेको पाइएको बताइन । उनका अनुसार गाउँघरमा दलहरूको चुनावी अभियान भएको छ तर मतदाता शिक्षा अझै पुग्न सकेको छैन ।