सल्यान ०६ चैत ।
सल्यानमा निर्माण गरिएको नेपालकै सबै भन्दा ठूलो आकृतिको शंखको आइतबार उद्घाटन गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले वडा नम्बर ६ स्थित शंखमुलमा शंखपार्क निर्माण गरेको हो । १ करोड ६० लाख रुपैयाँमा निर्माण गरिएको शंखपार्कको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले एक समारोहकावीच उद्घाटन गरेका हुन् ।

शंख पार्कको उद्घाटनन गर्दै प्रवक्ता महतले विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताए । पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नुपर्ने भन्दै यसमा सबैको भुमिका हुनुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार विकास संगै आध्यात्मीक र धार्मिक क्षेत्रको विकासलाई पनि अगाडि बढाउनुपर्ने महतको भनाई थियो । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धनमा छत्रेश्वरी गाउँपालिकाले महत्वपूर्ण काम गरेको भन्दै प्रशंशा गरे ।
तस्तै पुर्व परराष्ट्र मन्त्रि समेत रहेका महतले आवश्यकताका आधारमा गबन्धन बनाएर निर्वाचनमा जाने बताएका छन् । जुन पार्टीसँग गठबन्धन गर्दा कांग्रेसको सिट सुनिश्चित हुन्छ सोही पार्टीसँग गठबन्धन गरेर जाने बताए । महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव संकलन भइरहेको र चैत ११ गते बस्ने केन्द्रीय समितिको बैठ्कले निर्णय गर्ने बताए । उनले भने ‘हरेक दलको लक्ष्य भनेको कसरी बढी सिट ल्याउन सकिन्छ भन्ने हुन्छ । त्यस अनुसार के गरेर जाँदा बढी सिट ल्याउन सकिन्छ । एकल जाँदा बढी सिट आउँछ की गठबन्धन गरेर जाँदा बढी आउँछ सोही अनुसार पार्टी अघि बढ्छ ।’ एकल निर्वाचनमा जाने विषयमा तत्काल केही भन्न नसकिने उनको भनाई छ । चैत भित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको टुंगो लाग्ने उनले बताए । स्थानीय तहको निर्वाचन पार्टीको आन्तरिक चुनाव जस्तो नभएकाले सुझाबका साथ लाग्न उनले कार्यकर्तालाई आग्रह गरे । एमसीसी बिषयमा भने विशुद्ध विकास निर्माणका लागि अनुमोदन भएको बताउँदै उग्र राष्ट्रवादी बन्न जरुरी नरहेको उनको भनाई छ ।

तस्तै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि र नेपालकै प्रमुख धार्मिक स्थलका रूपमा विकास गर्नका लागि शंखमुलमा शंख पार्क निर्माण गरिएकोे बताएका छन् । उनले छत्रेश्वरी गाउँपालिका क्षेत्रमा धार्मिक रुपमा विशेष महत्व राख्ने स्थलहरूको प्रवद्र्धनमा पालिकाले योजनाबद्ध तरिकाले काम गरिरहेको बताए । पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख भएको महत्वपूर्ण शंखमूलको अस्तित्व जोगाइ राख्न र शंखमूललाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि शंख पार्क निर्माण गरिएको अध्यक्ष केसीले बताए ।

नेपालकै ठूलो भनिएको शंख संगै पार्कमा शिव पार्वतीको मूर्ति, पानीको फोहोरा, पौराणिक कालको झल्को दिने झुपडि, चौतारा, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । शंखमूल पार्क राप्ती लोकमार्गदेखि करिव चार सय मिटर जति उत्तर पश्चिममा अवस्थित छ । यो चर्चित धार्मिकस्थल हो । शंखमूलको कुण्डमा सर्वसाधारणले वर्षाैँ अघि देखि पाप नाश तथा पुन्य प्राप्तिको लागि भन्दै स्नान गर्दै आएका छन् । श्री स्वस्थानी ब्रत कथामा वर्णण भए अनुसार छाँयाछेत्र तथा शंखमुल धार्मिक महत्वको एक केन्द्र हो । सत्य युगमा महादेवले सतीदेवीको मृत शरिर बोकेर विश्व परिक्रमा गर्दा सतिदेबीको बांकि रहेका सम्पुर्ण अंगहरु छाँयाक्षेत्रमा पतन भएको र त्यसपछि महादेबले शंखमुलमा स्नान गरेको कथाहरुमा बर्णण गरिएको छ । महाशिबरात्री तथा अन्य समयमा यहाँ ठुलो मेला लाग्ने गर्छ । शंख पार्कबाट छाँयाक्षेत्र मन्दिर करिब ४ किलोमिटरको दुरिमा रहेको छ । गाउँपालिकाले छायाँछेत्र सम्म जानका लागि फराकिलो सडक समेत निर्माण गरेको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाले नै वडा नं. ६ को लान्तीमा दश लाख रुपैयाँ लगानी गरेर एक सय आठ शिवलिंग समेत निर्माण गरेको छ ।

शंख पार्क उद्घाटन कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्लाका स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता थियो । छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खनालको स्वागत मन्तव्यबाट शुरु भएको शंखपार्क उद्घाटन कार्यक्रमको सञ्चालन पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले गरेका थिए ।