चैत ६, सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका सांसद ठम्मर बिष्ट आइतबार नेकपा एमालेमा प्रवेश गर्दैछन । सांसद विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आउन लागेको एमाले सुर्खेतका नेता हरि अधिकारीले दैनिकीलाई जानकारी दिए । वीरेन्द्रनगरमा आज आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराउने गरी तयारी पूरा भएको अधिकारीले जानकारी दिए ।बिष्टसंगै नेकपा माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश छन । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ । विष्ट एमाले प्रवेश गरेपछि माओवादीका पाँच वटा पालिका कमिटी एमालेमा गाभिने छन ।सिम्ता, चिङगाढ, गुर्भाकोट, लेकबेसी र भेरिगंगाको सम्पूर्ण पालिका कमिटी एमालेमा समाहित हुने अधिकारीले बताए । उनले त्यसका लागि गम्भीर ढंगले छलफल भैरहेको जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।साभार:dainiki
