फागुन १,सल्यान ।
२७ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरी मनाएका छन् ।
वि.स. २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
दिवसको अवसरमा जिल्लाका दश वटै पालिका, बागचौर, बनगाड कुपिण्डे र शारदा नगरपालिका, दार्मा, कुमाख, छत्रेश्वरी, कपुरकोट, कालिमाटी, सिद्ध कुमाख, त्रिवेणी गाउँपालिकाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।
बनगाड कुपिण्डे नगर कमिटीको आयोजना चियापान कार्यक्रम गरी मनाएको छ । देश माओवादीको एजेन्डा अगाडि बढिरहेको र अब माओवादी केन्द्रको नेतृत्व गर्ने गरि पार्टी अगाडि बढी रहेको माओवादीका कर्णाली प्रदेश उपाध्यक्ष कर्ण बहादुर बुढाथोकीले बताए । यस्तै शारदा र बागचौर नगरपालिकाले पनि शहिदहरुको फोटोमा माल्यार्पण गर्दै चियापान कार्यक्रम सम्पन्न गरेका छन् । शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन । जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ। शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन् ।
