सल्यान, १० कार्तिक ।
द्रोण केसी अध्यक्ष रहेको पालिका कमिटी निर्माण गर्दै नेकपा एमाले कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले उपाध्यक्ष ललिता गिरी, सचिव रुपक बुढा तथा उपसचिव इश्वर बुढा, रुपलाल बुढाथोकी र अन्य सदस्य रहेको ७५ सदस्यीय पालिका कमिटी पासर्वसम्मत रुपमा चयन गरेको हो ।
नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा सल्यान जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनले सपथग्रहण गराएका थिए । अधिवेशन उद्घाटन अघि एमालेका नेता, कार्यकर्ताहरु कपुरकोट हाटबजार देखी तल्लो बजार हुँदै अधिवेशन स्थल कालिका माविको पुरानो भवनको प्रांगणसम्म विभिन्न नारा लगाएर पुगेका थिए । उनीहरु निकै उत्साहित देखिन्थे ।
अधिवेशन अन्तर्गत बन्दशत्रमा एमाले जिल्ला कमिटी अध्यक्ष तथा एमाले कपुरकोटका निवर्तमान अध्यक्ष घनश्याम शर्माले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ ।
बन्दशत्र अघि अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा सल्यान जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेन, जिल्ला कमिटी सदस्य ओम बहादुर बुढा, युवा संघ सल्यानका संयोजक रुपक बुढा, युवा संघका केन्द्रिय सदस्य द्रोण केसी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका निवर्तमान अध्यक्ष पदम खड्का, एमाले नेतृ भिमा बुढाथोकी, ललिता गिरि, एमाले कपुरकोट २ का अध्यक्ष नवराज बुढा लगाएतले देश विकास गर्ने क्षमता भएको पार्टी एमाले मात्रै भएकाले यो पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा पार्टिमा योगदान पुर्याउने अग्रजहरुलाई सम्मान गरिएको एमाले कपुरकोटले जनाएको छ ।
एमाले कपुरकोटका संयोजक घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य टिकाराम बोहोराले गरेका थिए । कार्यक्रमको संचालन एमाले कपुरकोट ४ का वडाध्यक्ष मित्र कठायतले गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतीक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।
