सल्यान, ३  चैत्र ।

सल्यानको दार्मा गाउँपालिकाले साँस्कृतिक प्रतिरोध दिवसका अवसरमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दिवसका अवसरमा गाउँपालिकाका भित्रका ३ दर्जन भन्दा बढि श्रष्टालाइ सम्मान गरेको हो ।
गाउँपालिकाले सम्मान गर्नेहरुमा हजारौ गितका सर्जक रामु खड्का, गायक तथा सर्जक विनोद बाबु केसी, साहित्यकार तथा संचारकर्मी हिरालाल केसी, संगीतकार कुल बहादुर पाण्डे रहेका छन । त्यस्तै गाउँपालिकाले विभिन्न क्षेत्रमा क्रियाशिल नयाँ तथा पुराना स्रष्टा तथा कलाकारलाइ सम्मान गरेको छ । कार्यक्रममा स्थानीय कला साँस्कृति झल्कने विभिन्न साँस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।
स्रष्टा सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले गाउँपालिकाले साँस्कृती संरक्षणको क्षेत्रमा पनि विभिन्न गतिविधि गर्नुका साथै श्रष्टाको सम्मान पनि गर्ने बताए । उनले गाउँपालिकाले उज्यालो दार्मा, दर्माली घाउटा लगायतका गीतहरुबाट पुराना र नयाँ कलाकारको संयोजन गरेको बताए ।
कर्णाली प्रदेश सरकारका सल्लाहकार भीम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा वादी समुदायको उत्थान समितिका पुर्व उपाध्यक्ष पुष्प वादी र कलाकार रामु खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टीका शर्मा वली, प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, नेपाल पत्रकार महासंघ सल्यानका सभापती प्रतिक इच्छुक शर्मा लगायतले पनि सम्बोधन गरेका थिए । वडा नं। ४ का अध्यक्ष प्रकाश रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकाले गरेका थिए ।
सांस्कृतिक प्रतिरोध दिवस जनयुद्धका क्रममा काभे्रको अनेकोट घटनामा ज्यान गुमाउने साँस्कृतिक सहिदको सम्झनामा मनाइन्छ । तत्कालिन एमालेको सुराकीमा प्रहरीको एक जत्थाले काभ्रेको अनेकोटमा जनकलाकारहरू च्याङबा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, शुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए ।

उनिहरुलाइ २०५५ साल चैत ५ गते तत्कालीन राज्यसत्ताले नियन्त्रणमा लिएर हत्या गरेको थियो । रोल्पाको भावाङमा पनि सामूहिक हत्याकाण्ड भएको थियो । देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यसलाई मनाउँदै आएको छ ।