सल्यान, ३ चैत ।
गतवर्षको फागुन २ गते राती हत्या गरिएकी सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको ह’त्यारा पत्ता लागेको छ । प्रहरीको एक वर्षको अनुसन्धान पछि सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले कविताको हत्या गरेको खुलेको हो । कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
कसरी भयो घटना
कविता गाउँ नजिकैको जनता माविमा कक्षा ९ मा अध्ययनरत थिइन । कृष्ण पनि सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । दुवैको गाउँ एउटै हो । कविताको घरबाट कृष्णको घर जान १० मिनेट लाग्छ । त्यो दिन फागुन २ गते प्रेम दिवसको दिन थियो । डिएसपी थापाकाअनुसार लामो समयदेखि कवितालाई कृष्णले एकतर्फी माया गर्थे । जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले भने, ‘धेरै पटक निजले कवितालाई प्रेम प्रस्ताव राखेका रहेछन् । करिब २ बर्षदेखि कवितालाई निजले फलो गरेको देखिन्छ । सँगै स्कूल जाने, प्रेम पत्र लेखेर ब्यागमा हालिदिएको तर कविताले त्यसलाई कुनै मतलब नगरेर अर्कै केटासँग प्रेममा परेको र कुनै रिप्लाई नगरेको देखिन्छ । मोबाईलमा फोटो जोडेर वाल पेपर बनाउने जस्ता कार्य निजबाट भएको अनुसन्धानले देखाउँछ ।’
त्यसदिन दिउँसो स्कुलमा कृष्णले भ्यालेन्टाइन डे को मौका छोपी कृष्णले अन्तिमपटक कवितालाई प्रेम प्रस्ताव राखे । तर कविताले उनको प्रस्ताव स्वीकार नगरेर आफ्नो प्रेम अन्तै भएको जवाफ दिइन् । आफ्नो प्रेम प्रस्ताव कविताले स्वीकार नगरेपछि उनले झिनो आशा समेत नभएको देखेपछि अपाच्य महसुस भएर कविताको हत्या गर्ने पलान रचे । डिएसपी थापाले भने, ‘राती कविता कोठमा नेटवर्कले काम नगर्दा बाहिर आँगनको डिलमा आएर फोन गर्ने गर्थिन् । त्यसरात पनि कविता बाहिर आएर फोन गर्दैथिइन् । सोहि अवस्थामा निज आई पहिले टाउकोमा खुकुरीले प्रहार गरेको; खुकुरी प्रहार पछि कबिता चिच्याउँदै डिलबाट लडेको अवस्थामा घाँटीमा २ चोटी प्रहार गरेको; सोही चोटका कारण कबिताको मृत्यु भएको खुलेको छ ।’
अनुसन्धान यसरी सफल भयो
कविताको हत्यापछि विभिन्न तरिकाबाट प्रहरीले अनुसन्धान गरेको थियो । इनिस्पेक्टर लक्ष्मण ओलीको कमाण्डमा अनुसन्धान टोलीहरु थिए ।
प्रेम दिवसको राति भएको कविताको हत्या भएकोले प्रेम सम्बन्ध कै कारण हुनसक्ने प्रहरीको अनुमान थियो । प्रेम सम्बन्धमा खट्पट, जलनकै कारण वा प्रेम सम्बन्धी कारण कुनै केटा साथीले कवितालाई हत्या गरेको हुनसक्ने निचोडमा प्रहरी पुगेको थियो ।
सुरुमा प्रहरी कल डिटेलतर्फ पुग्यो । इनिस्पेक्टर लक्ष्मण ओली भन्छन्, ‘हामीले सुरुको अनुसन्धानमा अन्तिमपटक कसले फोन गरेको थियो त्यसमा अनुसन्धान गरियो । तर अन्तिमपटक कल गर्ने मान्छे धेरै टाढाको भएको र लोकेशन ट्याब गर्दा त्यस दिन फरक ठाउँमै भएको देखियो ।’
त्यस अनुसन्धानलाई पनि कायम नै राखेर विद्यालय केन्द्रीत भएको इनिस्पेक्टर ओलीको भनाई छ । यो बीचको अवधीमा दुई दर्जन बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको उनले बताए ।
अन्तिममा धेरै कोणबाट अनुसन्धान गरेर कृष्णलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । अन्तिममा प्रहरी समक्ष उनले प्रेम असफल भएकै कारण हत्या गरेको स्वीकारको बताइएको छ ।
आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ।
सफल अनुसन्धान गरेकोमा इनिस्पेक्टर ओली सम्मानित

एकवर्ष सम्म लगातार अनुसन्धान गरेर सफल नजिता निकालेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता समेत रहेका इनिस्पेक्टर लक्ष्मण ओलीलाई सम्मान गरएिको छ । मंगलबार घटनाको सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख थापाले ओलीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै ओलीले ढिलो चाँडो एकदिन अपराधी प्रहरीको नजरबाट उम्कीन नसक्ने बताए ।
