फागुन ११, सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुलि बत्ती बलेको छ । गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बाल्न सफल भएको हो ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ३ स्थित रामपुरमा मंगलबार गाउँपालिका अध्यक्ष दान बहादुर केसी र उपाध्यक्ष सनशिलता ओली डिसीले संयुक्त रुपमा विद्युतको उद्घाटन गरेका हुन ।

एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६र०७७ को स्वीकृत बजेट अन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले जानकारी दिए । दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरिमा बत्ती बल्ने छ भने यस वर्ष मात्रै यहि विद्युत लाइनले तीन हजार घर धुरिलाइ सुबिधा प्रदान गर्ने छ । यस अघि वडा नम्बर १ को लक्ष्मिपुरमा करिव ५ सय सय घरधुरिमा र वडा न ३ को लामिडांडाको ४० बढी घरधुरिमा बिजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए ।

केही सातामै ४ करोड ५२ लाख को लागतमा बांकी रहेका वडाहरुमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत सहकारी र गाउँपालिकाको साझेदारिमा योजना संचालन हुन लागेकी उपाध्यक्ष सनशिलता ओली डिसीले बताइन । साथै गाउँपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उनले बताइन ।

खुसियालिमा सोरठी र टप्पा

लामो प्रतीक्षापछि कालिमाटी गाउँपालिकामा विद्युत आइपुग्दा स्थानियहरु हर्षित भएका छन । खुसियालिमा स्थानियहरुले मंगलबार नाचगान समेत गरेका छन ।

स्थानियहरुले गाउँमा विजुली आएको खुसियालिमा सोरठी, टप्पा लगायत मौलिक लोक कला संस्कृति प्रदर्शन गरेका हुन । पहिलो पटक विद्युत आएपछी अब बिकासका धेरै सम्भावनाहरु खुल्ला भएको भन्दै स्थानिय ससिराम ओलिले खुसी व्यक्त गरे ।

कालिमाटी ३ का वडा अध्यक्ष वीर बहादुर ओलिको अध्यक्षतामा भएको कार्यक्रममा विद्युत प्राधिकरण दाङका प्राविधिक प्रमुख प्रकाश देवकोटा, सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य बिजय थापा, दांग जिल्ला अध्यक्ष विश्वराज आचार्य, पुरन्धारा विद्युत सहकारिका अध्यक्ष तिलकराम शर्मा, कालिमाटी २ का वडा अध्यक्ष इन्द्र बहादुर ओलि लगायतका बक्ताहरुले विद्युतीकरणले गाउंपालिकामा उज्यालो छाएको भन्दै उज्यालोमा नै सकारात्मक पक्षको विजारोपन हुने बताएका थिए ।

विद्युत उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख प्रदिप कुमार खत्रीले गरेका थिए ।