
सल्यान ,२१ पौष ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले केपि ओलिलाई ख्याउटे व्यक्ति संज्ञा दिएका छन् । । नेकपाको भातृसंगठन युवा संघ र अनेरास्ववियुको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई मंगलवार जिल्लाको श्रीनगरमा सम्बोधन गर्दै उनले भने हामिले राजा ज्ञानेन्द्र ढालेका छौ, हामिले राजतन्त्र ढालेका छौ, हामिले राज संस्था ढालेका छौ, हामिले पुरानो सामन्ती ब्यवस्था ढालेका छौ । केपि वलि त ज्ञानेन्द्रका अगाडी अर्थात् राजतन्त्रका अगाडी ख्याउटे ब्यक्ति हुन । उनले केपि ओलिको पार्टि कम्युनिष्ट नभएको पनि बताएका छन् । नेकपाका सबै कार्यकर्ता नेकपाको आधिकारिक पक्ष, संस्थापन पक्षमा रहेको बताएका छन् । उनले सल्यानमा पार्टीका सबै नेताकार्यकर्ता आफुसंग भएको र कार्यकर्ता बिहिन ओली समूहले बन्द कोठामा कार्यक्रम गर्ने गरेका बताएका हुन् ।‘हामी पार्टीको संस्थापन पक्ष हौँ, पार्टी, चिन्ह, लोगो सबै हाम्रो हो, यसमा कार्यकर्ताले दुबिधा मान्नु पर्दैन, नेता कार्यकर्ता हाम्रो साथमा भएकै कारण हामी बिशाल भेला तथा प्रशिक्षण खुल्ला ठाउँमा गर्दै आएका छौँ’ उहाँले ओली समुहप्रति संकेत गर्दै भन्नुभयो ‘नेता कार्यकर्ता नभएकाहरुले एउटा कोठामा सिमित रहेर कार्यक्रम गर्छन् ।’ उहाँले साँच्चै कम्युनिस्ट पार्टीका कार्यकर्ता भए खुल्ला मैदानमा आउन आग्रह गर्नुभयो । ज्वालाले प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको बिरुद्धमा जिल्लामा दश वटै स्थानिय तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको बताए । ‘सबै स्थानिय तहमा कार्यकर्ताको उत्साहजनक ढंगले सहभागिता भएको छ’ उनले भने ‘अब प्रचण्ड नेपालले नेतृत्व गरेको नेकपाको विकल्प छैन् भन्ने कार्यकर्ताहरुले महशुस गरिसकेका छन् ।’ कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, प्रदेश कमिटी सदस्य हरी केसी, युवा नेताहरु रमेश कुमार गौतम, तिलक भण्डारी, गणेश शाही, रमेश मल्ल लगाएतकाले बोलेका थिए । युवा संघका जिल्ला संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक न्यूटन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन अनेरास्ववियुका जिल्ला संयोजक चेतन गिरीले गर्नुभएको थियो ।
गुलावजंग शाह भन्छन ‘सल्यान जिल्लामा ४८ सालदेखि एउटै व्यक्ति सांसद हुने दिन गए’

यसैबिच नेकपाको ओली समुहको युवा तथा बिद्यार्थीहरुको भेला तथा प्रशिक्षण खलंगामा सम्पन्न भएको छ । भेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाहले अबको नेतृत्व युवालाइ दिनुपर्ने बताएका छन् । उनले अब वृद्धहरुले आराम गर्ने भन्दै पुस्ता हस्तान्तरण हुने बताए । मंगलबार सल्यान सदरमुकाम खलंगामा भएको नेकपा (केपी ओली) समुहका युवा तथा विद्यार्थी संगठनहरुको भेलालाइ सम्बोधन गर्दै केपी ओली पक्षका नेता शाहले सल्यान जिल्लामा पनि एउटै व्यक्तीले २०४८ सालदेखि सभासदमा टिकट पाइरहेको बताए । प्रकाश ज्वालालाइ लक्षित गर्दै नेता शाहले अब सल्यानमा पनि ४८ सालदेखि सभासद हुनेका दिन जाने र नयाँ पुस्ता आउने बताए । उनले प्रश्न गर्दै भने, ‘सल्यानमा युवा नेता कोहि नभएको होर ? किन सधै एउटै व्यक्तीलाइ उमेदार बनाइन्छ ? एउटै व्यक्तीलाइ मात्रै सरकारमा पुर्याइन्छ । पार्टीको माथिल्लो तहमा पुर्याइन्छ ? अब त्यसो हुँदैन् नयाँ पुस्तालाइ दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाइ पद हस्तान्तरणका कुरा गर्दा पाँच जना सचिवालयले गुटको भेला गरेर पार्टी फुटाउन तर्फ लागेको उनको भनाइ छ । युवाहरुलाइ नआत्तिन आग्रह गर्दै नेता शाहले निर्वाचन आयोगले आधिकारिक पार्टी र चिन्ह आफुहरुलाइ नै दिने उनले दाबी गरे ।
