काठमाडौं कात्तिक ५ गते, ।
हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना तथा दर्शन गरेर मनाइँदै छ।
दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमातालाई पाँचौ रुपका रुपमा व्याख्या गरिएको छ ।
शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । स्कन्द भनेका कुमार हुन् र कुमारकी माता गौरी हुन्। गौरी नै स्कन्दकी माताका रुपमा स्थापित भएकी हुन्। यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।सृष्टिनमा आएका आफ्ना सबै सन्ततिलाई स्कन्द अर्थात् काखमा राखी समभावका साथ पालनपोषण गर्दै मातृत्वको आभास दिलाउने माताका रुपमा स्कन्दमाता नवदुर्गा स्वरुपमा सर्ववन्द्या हुन पुगिन्।
राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा पनि विशेष पूजा गरिदैछ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीलगायतका दुर्गादेवीका शक्तिपीठहरुमा समेत आजको दिनमा विशेष पूजा गर्ने गरिन्छ ।
उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर विभिन्न पुजाआरधना गर्ने चलन छ ।
तर यसपालि कोरोना भाइरसको महामारीले गर्दा मन्दिरहरूमा भिडभाड गर्न सरकारले रोक लगाएको छ ।
khabardabali.com
