सल्यान २५ माघ । “हाम्रो व्यवसाय, हाम्रो एकता– सधैं एकता हुने हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सल्यान सुनचाँदी व्यवसायी समिति सल्यानको १० औँ साधारण सभा बागचौर नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै नेपाल सुनचाँदी महासंघका केन्द्रीय उपाध्यक्ष तथा सभाका प्रमुख अतिथि बुद्धि दियालीले सुनचाँदी व्यवसाय राष्ट्रको अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण व्यवसाय भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीहरू संगठित, पारदर्शी र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै गुणस्तर, विश्वास र इमान्दारितालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै, महासंघ व्यवसायीहरूको हकहित र अधिकारका लागि सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि बागचौर नगरपालिका उपप्रमुख सुम्निमा डि.सी. वलीले स्थानीय सरकार व्यवसायीहरूको समस्या र आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभयो । उहाँले बागचौर नगरपालिकाको तर्फबाट व्यवसायमैत्री नीति निर्माण, सीप विकाससम्बन्धी तालिम तथा स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सभामा सल्यान सुनचाँदी व्यवसायी समितिका अध्यक्ष रमेश सुनारको सभाध्यक्षता रहेको थियो भने नेपाल सुनचाँदी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि दियाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । त्यसैगरी बागचौर नगरपालिकाकी उप–प्रमुख सुनिमा डि.सी. वली विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल सुनचाँदी महासंघका केन्द्रीय सदस्य तथा सल्यानका निवर्तमान अध्यक्ष मेघराज सुनार, सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र भण्डारी, सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम बि.क., कालिगढ संघका अध्यक्ष पूर्ण सुनार, पत्रकारहरू, जिल्लाभरिका सुनचाँदी व्यवसायी तथा स्थानीय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सभामा संगठनात्मक गतिविधि, आगामी कार्ययोजना, सुनचाँदी व्यवसायीहरूको अधिकार, सुरक्षा र व्यवसायिक चुनौतीका विषयमा समेत विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा व्यवसायमा आबद्ध अतिथि, पत्रकार, कलाकार तथा सहभागीहरूलाई सम्मानस्वरूप मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शंकर बिक तिवारीले गर्नुभएको थियो । सभाको अन्त्यमा समितिले एकता, अनुशासन र सहकार्यका साथ व्यवसायलाई थप सुदृढ र व्यवस्थित बनाउँदै अघि बढ्ने निर्णय गरेको छ ।

