सल्यान १२ कार्तिक ।
धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलको नाम कुमाख हो । कुमाख धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । कुमाखमा कोजाग्रत पूर्णिमाका दिन सिद्ध मन्दिरदेखि १ किलोमिटर तल लिमाजीतर्फको समथर भू–भागमा मेला (जात्रा) लाग्ने गर्दछ । मेलामा आसपासका विभिन्न गाउँका मेलारुहरुले स्थानीय लोकसंस्कृति झल्कने बनगाडी, टप्पा, सोरठी, पसेरी, दोहरी ,सेरेङ्गेजस्ता नाच प्रदर्शन गर्ने गर्दछन् । आ–आफ्ना गाउँका पहिचान मेलामा देखाउने, जमघट हुने पर्वका रुपमा कुमाख मेलालाई लिइने गरिन्छ । लोकसंस्कृतिमा कुमाख मेलाले टेवा पु¥याए पनि बिस्तारै लोप हुन थालेकोप्रति वृद्धहरूको चिन्ता रहेको छ । सल्यान जिल्लाकै ठूलो मेला लाग्ने कुमाख मेलालाई २० हजार जति दर्शकहरुको उपस्थिती रहेको अनुमान छ ।
समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाको दोस्रो अग्लो पहाड हो । सिद्ध कुमाख र कुमाख गाउँपालिकाको सङ्गमको रुपमा रहेको पहाडको चुचुरोमा सिद्ध मन्दिर रहेको छ । पहाडका विभिन्न स्थानमा रहेका दर्जनौँ गुफाहरू पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाको अवलोकनका साथै पूजा आराधना गर्नेको पनि कमी रहँदैन । ‘गुफाहरूमा रहेका विभिन्न खालका आकृतिहरू निकै रमणीय रहेका छन् । स्थानीयहरूले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरू बाँझ काँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरूको लम्बाइ निकै भएको भनाई छ । पहिले गुफाको लम्बाइ पत्ता लगाउन कुकुर पठाएको बुढापाकाले सुनाउने गरेको स्थानीयको भनाई छ ।
कुमाख प्राकृतिक निकै मनोरम रहेको छ । कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरू देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरि, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरू एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न सकिन्छ । कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।
कुमाख पहाडमा उच्च पहाडी जङ्गलमा पाइने महत्त्वपूर्ण जडीबुटी, बनस्पती, फूलहरू पनि पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुङ्गी र जङ्गली जनावरहरू पनि कुमाख पहाडका आसपासमा रहेका जङ्गलमा पाइने गरेका छन् । पहाडमा रहेका गुफा, खोँच र वनजंगल निकै बाक्लो रहेकाले पनि जङ्गलमा राते मृग, घोरल, चितुवा रहेको स्थानीयको भनाई छ । पछिल्लो केही समययता कुमाख र आसपासका जङ्गलमा चोरी सिकारी बढेसँगै संरक्षणतर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ । ‘प्राकृतिक र धार्मिक महत्वको कुमाख पहाडको संरक्षण, विकास र सम्वद्धर्नमा सबै लाग्न जरुरी छ । वन्यजन्तुहरूको सुरक्षित वासस्थानका रुपमा समेत कुमाखको वनजंगल संरक्षित गर्नुपर्ने देखिन्छ ।’
कुमाखलाई दृश्यावलोकनका लागि भ्यूटावरको रुपमा विकास गर्न सके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको गन्तव्य कुमाख बन्न सक्ने निश्चित छ । कुमाख पहाड भएर चाख्ली घाट कुमाख, ढोरचौर–गुरुदासे–स्यानीपिपली सडक, थारमारे–चौरपानी–ओखरबोट गुरुदासे सडक निर्माण गरिएको छ । दुवैतिरबाट कुमाखको टुप्पोमा पुग्न उकालो एक घण्टा पैदल यात्रा गरे टुप्पोमा पुग्न सकिन्छ । कुमाखको टुप्पोमा अहिले दक्षिण पश्चिम मोहडाबाट आरोहण सहज रहेको छ । प्राकृतिक एवं धार्मिक पर्यटकहरूको लागि अध्ययन, अनुगमन र दृश्यावलोकन गर्नका लागि कुमाख पहाड राम्रो गन्तव्य बन्न सक्छ ।

धार्मिक विश्वासका साथ भक्तजनहरूले कुमाखमा रहेको सिद्ध मन्दिरमा चतुर्दशी र कोजाग्रत पूर्णिमाको दिन पूजा आराधनाका गर्ने प्रचलन छ । पहिलो पटक कुमाख पुग्नेले सात पटक मन्दिरको परिक्रम गरेर बर माग्ने र सो पूरा भएपछि भेडाको बलि चढाउने प्रचलन चलिआएको छ । पूर्वाधारको निर्माणको साथै प्रचारप्रसार गर्न सके यसबाट आन्तरिक र बाह्य पर्यटनको केन्द्रको रुपमा कुमाख पहाड पर्यटन गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।
सोही मेलाको अवसरमा कुमाख प्रथम बृहत् खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधबारबाट शुरू भएको वडा स्तरिय भलिबलमा छत्रेश्वरी १ दमाचौर प्रथम, सिद्ध कुमाख १ द्वितिय र बानपा ३ तृतिय बनेका छन । उनिहरूलाई क्रमशः १ लाख १ हजार १ सय ११, ७५ हजार १ सय ११ र ५० हजार १ सय ११ राशीको पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ । खेलमा बानपा ३ का कमल बुढाथोकीले उत्कृष्ट खेलाडीको उपाधी पाएका छन ।
भलिवलका लागि कुमाख, दार्मा, सिद्धकुमाख, छत्रेश्वरी, बन्गाड र बागचौरका २२ टिमको सहभागिता थियो ।
कोजाग्रत पुर्णीमा र त्यसको अघिल्लो दिन मात्रै लाग्ने मेला यो बर्ष विजयादशमीको भोलिपल्ट बाट नै शुरू भएको थियो । ४ दिनसम्म गरि मेलालाई २० हजार भन्दा बढीले अवलोकन गरेको मेला व्यवस्थापन समितीका अध्यक्ष राकेश जैसीले जनाएका छन । अघिल्ला बर्ष १ सय बली चढ्न धौ धौ हुने टाकुराको थाममा मात्रै यो बर्ष २ सय २४ साँराको बली चढाईएको छ । ३ दिनसम्म गरि कुमाखको थाममा पनि ३ हजार बढीले पुजापाठ र अलोकन गरिसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

२ हजार ५ सय ३७ मिटर अग्लो टाकुरामा कुमाख गाउपालिका अध्यक्ष मानबहादुर बुढाथोकी प्रमुख प्रशासकिय अधिकृत छविलाल खड्का सहित कर्मचारीको उपस्थितिमा पुजापाठ गरिएको छ । त्यस्तै सल्यानका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले पनि टाकुरामा नै पुगेर दर्शन अवलोकन तथा पुजापाठ गरेका छन ।
मेलामा विभिन्न गाउबाट कला संस्कृती झल्कने साँगितिक प्रस्तुती राखिएको छ । सहभागी विभिन्न साँस्कृतिक प्रस्तुतीहरूलाई नगद र प्रमाणपत्रले पनि सम्मान गरिएको छ ।
कुमाख वडा नं ३ परिकाँडा र गुरूदासेको २ वटा सरिगे, वडा नं ३ ईच्छुखोलाको सिंगारू, कुमाख ७ जिमालीको खारो, कुमाख ६ को सोरठी, सिद्ध कुमाख २ को लहरे र बानपा ३ को सोरठीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । सरिङ्गेलाई ९ हजार, सोरठीलाई ७ हजार र सिंगारूलाई ५ हजारले सम्मान गरिएको हो ।
कोजाग्रत पुर्णिमाको अवसरमा लाग्ने कुमाख मेलाको अवसरमा मेला स्थलमा कुमाख आसपासका स्थानीय युवाले मेला व्यवस्थापन समिति बनाएर मेलाको व्यवस्थापन गरेका हुन भने कार्यक्रम संयोजनको जिम्मा त्यहि समितिभित्रबाट संयोजक तोकेर आयोजना गरेका हुन ।
भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले बुधबार उद्घाटन गरेको कार्यक्रम शनिबार संविधान सभा सदस्य उमाकान्त शर्माको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
मेलामा कलाकार शक्ति चन्द, कृष क्षेत्री, पिएन साईला, महेन्द्र तिवारी लगायत विभिन्न कलाकारहरूले साँगितिक प्रस्तुति राखेका छन । सल्यानको ठुला मेला भनेर चिनेने कुमाख मेला १ दशक पहिलादेखि हराउदै गएकोमा एकाएक फेरी पुरानै लयमा फर्कदै गएको छ ।

