सल्यान, मंसिर २४ गते ।
सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (सुस्वा) आयोजना, सहयोग ईकाई सूर्खेतको आयोजना तथा सहजीकरणमा पूर्ण सरसफाई, खानेपानी सुरक्षा योजना र मर्यादित महिनावारी व्यवस्थापन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा कर्णाली प्रदेशका जिल्लाहरुमा सरसफाईको वर्तमान अवस्था र अबको कार्ययोजना, खानेपानी आयोजनाको अवस्था र अबको रणनीति, महिनावारी सम्बन्धी महिलाहरुले भोग्दै आएका समस्या र हाम्रो भूमिका जस्ता विषयहरुमा यथार्थ विश्लेषण सहित समूहगत रुपमा कार्ययोजना निर्माण र सुधारको क्षेत्रमा लक्ष्य सहित लाग्नु पर्ने बारे छलफल गरिएको छ । यसैबीच १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको समय रहेको र पाँचौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस् पनि परेकोले यसको पृष्ठभूमि र महत्व बताउदै स्यानीटरी प्याड निर्माणको समेत अभ्यास गरिएको छ ।ं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस्को सन्दर्भमा कर्णाली प्रदेश र समग्रमा नेपाली महिलाहरुले महिनावारीका कारण भोग्नु परेका विभिन्न कठिनाईहरु भिडियो मार्फत देखाईएको थियो । महिनावारीलाई मर्यादित बनाउन र अन्धविश्वास एबं नकारात्मक सामाजिक मूल्यमान्यहरु न्यूनिकरण एबम् अन्त्य गर्न पनि तालिमले मदत गर्ने अपेक्षा गरिएको छ । सुस्वा आयोजना सञ्चालन भएका आठ जिल्लाका २१ पालिकामा कार्यरत वास सल्लाहकार, वास संयोजक र वास सहजकर्ताहरुका लागि उक्त तालिम आयोजना गरिएको हो । कर्णालीका आठ जिल्लाहरु क्रमशः सुर्खेत, दैलेख, हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट र सल्यानमा यो परियोजना सञ्चालन भईरहेको छ । आगामी आर्थिक वर्षमा थप १४ पालिकाहरुमा परियोजना लागू हुने बताईएको छ । नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन र स्थानीय सरकारहरुको संयुक्त साझेदारीमा यो परियोजना सञ्चालन भईरहेको छ । प्रशिक्षक प्रशिक्षण तालिम अन्तर्गत मंशिर १७ गतेदेखि १८ सम्म पूर्ण सरसफाई (total Sanitation) सम्बन्धमा सरसफाई विज्ञ गोविन्द राज रोकाय र होमनाथ आचार्यले सहजीकरण गर्नु भएको थियो । १९ गते देखि २१ सम्म खानेपानी सुरक्षा योजना (Water safety Plan) सम्बन्धमा विज्ञहरु क्रमशः प्राविधिक विशेषज्ञ नारायण सिंह खवास, खानेपानी आयोजना विज्ञ किरण दर्नाल र जलबायु परिवर्तन विशेषज्ञ जोहो हापला (Juho Haapala) ले सहजीकरण गर्नु भएको थियो भने २२ र २३ गते लैंगिक समानता, अपांगता, सामाजिक समावेशीकरण र मर्यादित महिनावारी लगायत व्यबहार परिवर्तन र समाज सुधारका अभियानमा विज्ञ प्रशिक्षकको रुपमा परिचित राजु तिर्वा र शुसासन विज्ञ निराजन श्रेष्ठले सहजीकरण गर्नु भएको छ । शनिवार सम्पन्न भएको तालिमको समापन समारोहका अध्यक्ष तथा आयोजना सहयोग इकाई सुर्खेतका अनुगमन, मुल्यांकन तथा समन्वय विज्ञ विमल शर्माले आयोजना कार्यान्वयनमा देखा परेका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउदै आयोजना कार्यान्वयन तहमा परिचालित जनशक्तिले तालिममा सिकेका कुराहरुलाई कार्य क्षेत्रमा लागू गर्न सुझाव दिनु भएको थियो ।
