सल्यान, १४ असार ।
सल्यानमा असार १५ अर्थात धान दिवसको अवसर पारी मेसिनबाट धान रोप्ने प्रबिधिको सुरुवात गरिने भएको छ । यस वर्ष जिल्लामै पहिलो पटक Mini Rice Transplanter मेसिनबाट धान रोपेर धान दिवस मनाउना लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी गराउनु भयो । यस बर्ष परिक्षणका लागि सुरुवात मात्र गर्ने र यो कति सफल हुन्छ त्यसको आधारमा आउदो चैते धान खेति देखि किसान समक्ष पुर्याउने उहाँले बताउनु भयो । यस वर्ष मेसिनबाट १ कट्टा जति खेतमा मात्र धान रोप्ने र यो कसरी फल्छ, कस्तो उत्पादन दिन्छ यसको सफलता र प्रभावको आधारमा आउदो वर्ष देखि आवश्यकताका भए यसको प्रयोगलाई बढाउने उहाँले बताउनु भयो ।
सल्यानमा धान उत्पादन हुने ७ हजार ७२ हेक्टर क्षेत्रफल भुभाग मध्ये हाल सम्म ४५ प्रतिशत भुभागमा मात्र धन रोपाई सम्पन्न भएको छ । समयमा पानी नपरेका कारण यस वर्ष गत वर्षको तुलनामा कमै मात्र धन रोपाई भएको कृषि बिकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तिले जानकारी दिनु भएको छ । आर्थिक वर्ष ०७८/७९ को तथ्याङकलाई हेर्दा जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफल भुभागमा गरिने धनखेतिबाट २७ हजार ८ सय ४९ मेट्रिक टन धान उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

असार १५ गते शुक्रबार राष्ट्रिय धान दिवस मनाइँदैछ । यस वर्षको राष्ट्रिय धान दिवसको नारा, “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” रहेको छ । सल्यानमा जिल्ला कृषि बिकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानको आयोजनामा र शिवजन माध्यामिक बिद्यालय सितलपाटी को व्यवस्थापनमा धान दिवस मनाउन लागिएको छ । उक्त कार्यक्रम शिवजन मा.वि शितलपाटीको शारदा खोला किनारमा रहेको खेतमा ११ बजे देखि शुरु गरिने भएको छ ।

२०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । यस दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।