माघ २५, सल्यान ।

सल्यानको त्रिबेणी गाउँपालिकामा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ४ दिनसम्म संचालन हुने पालिका स्तरीय प्रतियोगिको बुधबार उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा सल्यान प्रदेशसभा ९ख० बाट निर्वाचित कर्णाली प्रदेशका सांसद सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष मान बहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कार्यक्रममा बोल्ने वक्ताहरुले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिएका थिए । खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएको उनिहरुको भनाइ थियो ।

पालिकाभरका ७ सय १४ जना खेलाडी सहभागि भएको प्रतियोगितामा ५४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ । स्वस्थ र समृद्ध त्रिबेणी गाउँपालिका, बिकासमा हाम्रो प्रतिबद्धता, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित प्रतियोगितामा पालिका भित्रका सामुदायिक र संस्थागत गरेर ३५ विद्यालयले सहभागिता जनाएका छन् ।