इन्द्र बुढाथोकी
असार २०,सल्यान ।
विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानमा बाख्रा वितरण गरिएको छ । एक स्थानीय तह एक पशु वस्तु उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न पालिकामा किसानहरूलाई बाख्रा वितरण गरिएको हो ।
किसानको जीवनस्तर माथि उठाउन भन्दै बनगाड कुपिण्डे नगरपालिका ७ मा बाख्रा वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको १५ लाख, नगरपालिकाको ५ लाख र समूहको ४ लाख ३८ हजार गरी २४ लाख ३८ हजारको लागतमा ३० वटा बोयर जातका बोका र ६० बाख्रा वितरण गरिएको हो ।
बाख्रा हस्तान्तरण गर्दै बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्ने बताउँदै बाख्रा पालन सजिलो र राम्रो आयआर्जन गरी अरूका अधि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट बर्सेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
समूहको आय आर्जनका लागि बाख्रा पकेट क्षेत्रको रुपमा छनोट गरेकोमा सबैलाई धन्यवाद दिँदै नमुना कृषक समूह बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विगत दुई वर्षदेखि कार्यालयले एक स्थानीय तह एक पशु वस्तु उत्पादन कार्यक्रम सञ्चालन गरी काम गर्दै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनु भयो । पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाई निर्यात गर्ने बनाउने योजना अनुरूप बाख्रा वितरण गरिएको उहाँको भनाई छ । बाख्रा पालनका लागि सल्यानको भूगोल र हावापानी उपयुक्त रहेको उपाध्यायको भनाई छ ।
