माघ २९,सल्यान ।

सल्यानमा १८ जना फोटो पत्रकारले खिचेका ७२ भन्दा बढी फोटो प्रदर्शनी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको आयोजनामा एक दिने फोटो प्रदर्शनी कार्यक्रममा १८ जना फोटो पत्रकारले खिचेका ७२ भन्दा बढी फोटो प्रदर्शनी गरिएको हो ।

फोटो प्रदर्शनीमा जिल्लाका १० वटै स्थानीय तह भित्रका विभिन्न तस्बिरहरूको फोटो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव केसी जानकारी दिए ।

शनिवार जिल्लाको खलङ्गा डाडागाउँ स्थित बाल मन्दिर परिसरमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म गरिएको फोटो प्रदर्शनीमा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल झल्किने , जिल्लाका ऐतिहासिक, विकास निर्माण झल्काउने लगायतको फोटोको प्रदर्शनी गरिएको छ । सक्षम फोटो पत्रकार – गुणस्तरीय फोटो प्रदर्शनी र फोटो सुरक्षाको नारा सहित १० वटै स्थानीय तह भित्र के कस्ता ठाउँहरू रहेका छन्, ती कुराहरूलाई पनि फोटो मार्फत परिचित गराउने कार्य गरेको उनको भनाई छ । यस्तै क्याप्सन सहित ५० वर्ष पहिले खिचिएका फोटोहरू पनि फोटो प्रदर्शनी राखिएको छ ।

जिल्लामा ओझेलमा परेका ऐतिहासिक ठाउँहरूलाई फोटो प्रदर्शनीमा राखिएको र अहिले खिचिएका फोटो पनि इतिहास बन्ने र पछिल्लो पुस्ताले पनि केही सिक्दै जाने केसीको भनाई छ ।

फोटो पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाएर लैजाने, फोटो खिचेर पनि पेशा गर्न सकिने गरी यस क्षेत्रको विकास हुनुपर्नेमा जोड दिने र त्यसका लागि फोटो पत्रकारहरूले नै काम गर्नुपर्नेमा जोड दिइएको छ । एउटा फोटोले धेरै कुराको सन्देश दिने भएकाले पनि फोटो पत्रकारिताको भविष्य उज्ज्वल भएको बताइएको छ ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य गुलावजंग शाह, पत्रकार महासङ्घ सल्यानका अध्यक्ष नविन पौडेल, अन्य फोटो पत्रकार लगायतकाले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए ।