सल्यान, असोज २१ गते । जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन तथा यसको नियन्त्रणका विषयमा सुरक्षा निकाय र सरोकारवाला निकायबीच समन्वय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकमा जिल्लामा लागुऔषध नियन्त्रणका लागि अपनाउनुपर्ने उपाय, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीचको समन्वय र नागरिकस्तरबाट खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको हो ।
बैठकले लागुऔषध नियन्त्रणको पहिलो र महत्वपूर्ण बिन्दु घर तथा परिवार रहेको निष्कर्ष निकाल्दै अभिभावकलाई आफ्ना बालबालिकाको उचित हेरचाह तथा उनीहरूका गतिविधिमा नियमित निगरानी राख्न आग्रह गरेको छ । बालबालिका तथा युवाको संगत, व्यवहार र दैनिक गतिविधिमा देखिने असामान्य परिवर्तनप्रति परिवार सचेत हुनुपर्नेमा जोड दिइएको छ । परिवारबाटै समयमै निगरानी र सचेतना अपनाउन सके लागुऔषधको जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बैठकको निष्कर्ष छ ।
लागुऔषधको कारोबार, ओसारपसार तथा प्रयोगसँग सम्बन्धित शङ्कास्पद गतिविधि वा व्यक्तिबारे जानकारी प्राप्त भएमा तत्काल जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पनि प्रशासनले अनुरोध गरेको छ । लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायको प्रयाससँगै परिवार, समुदाय र सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको भन्दै जिल्लामा यसविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।