काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

बुधबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। निरीक्षणपछि उहाँ आजै काठमाडौँ फर्किनुभएको छ।

हिजो बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको थियो। बाढी आएलगत्तै उच्चस्तरीय बैठक आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्थाबारे जानकारी लिनुभएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ।