सल्यान, साउन ८ गते। सल्यान जिल्लाका विभिन्न स्थानमा आवश्यक अनुमति र दर्ता प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) सञ्चालन भइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले सबै सरोकारवालालाई प्रचलित कानुनको पालना गर्न आग्रह गरेको छ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा गृह मन्त्रालयको ‘मानवरहित हवाई उपकरण (ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५’ अनुसार आवश्यक प्रक्रिया पूरा नगरी ड्रोन सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ। कार्यालयका अनुसार विशेष प्रयोजनका लागि ड्रोन प्रयोग गर्नुअघि सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिनुका साथै कानुनअनुसार दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ।

हालका दिनमा भिडियो तथा फोटो खिच्ने, समाचार संकलन गर्ने, अनुसन्धान गर्ने तथा युट्युब वा भ्लगिङका लागि ड्रोनको प्रयोग बढ्दै गएको छ। तर सम्बन्धित निकायलाई जानकारी नदिई वा आवश्यक अनुमति नलिई ड्रोन उडाउन थालेपछि सुरक्षा, गोपनीयता तथा सार्वजनिक हितसँग सम्बन्धित विषयमा चुनौती उत्पन्न हुन सक्ने भन्दै प्रशासनले सचेत गराएको हो।

जिल्ला प्रशासन कार्यालयले तोकिएको मापदण्ड र कार्यविधिको उल्लङ्घन गरी ड्रोन सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ। त्यसैले ड्रोन प्रयोगकर्तालाई कानुनी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ।

गृह मन्त्रालयको कार्यविधिअनुसार नेपालमा सञ्चालन हुने ड्रोनलाई तौलका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ। अधिकांश ड्रोनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता आवश्यक पर्ने व्यवस्था छ भने व्यावसायिक, अनुसन्धान तथा अन्य विशेष प्रयोजनका लागि प्रयोग गरिने ड्रोन उडाउनुअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा आवश्यकता अनुसार गृह मन्त्रालय र सुरक्षा निकायबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ।

त्यसैगरी विमानस्थल, सैनिक क्षेत्र, मन्त्रालय परिसर, पुरातात्विक सम्पदा, जैविक विविधता संरक्षण क्षेत्र तथा अन्य संवेदनशील स्थानहरूमा ड्रोन उडाउन निषेध गरिएको छ। प्रशासनले यस्ता क्षेत्रको सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै कानुनबमोजिम मात्रै ड्रोन सञ्चालन गर्न सबैलाई अनुरोध गरेको छ।