असार ०५,सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले स्थानीयस्तरमै विवाद समाधान गर्ने उद्देश्यसहित वडास्तरका मेलमिलापकर्ताहरू तयार गरेको छ । आठ दिनसम्म सञ्चालन गरिएको ४८ घण्टे आधारभूत मेलमिलाप तालिम सम्पन्न भएसँगै पालिकाभित्रका साना तथा देवानी प्रकृतिका विवाद समुदायमै समाधान गर्ने आधार तयार भएको गाउँपालिकाले जनाएको छ । गत जेठ २८ गतेदेखि सञ्चालन भएको तालिम बिहीबार समापन गरिएको हो । वडाबाट छनोट भएका सहभागी तथा न्यायिक समितिसँग सम्बन्धित सरोकारवालाहरूले मेलमिलाप परिषद्बाट सूचीकृत प्रशिक्षकमार्फत तालिम लिएका हुन् । समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर केसीले स्थानीय न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताए । उनले निष्पक्षता, गोपनीयता र धैर्यतालाई मेलमिलाप प्रक्रियाको आधार बनाउन आग्रह गरे ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सनसिल्ता वली डिसीले तालिमले वडास्तरमै दक्ष जनशक्ति तयार भएको बताउँदै आगामी दिनमा मेलमिलाप केन्द्र स्थापना र थप क्षमता विकासका कार्यक्रम अघि बढाइने जानकारी दिइन् । कार्यक्रममा न्यायिक समिति सदस्य तथा वडा नं. २ का वडाध्यक्ष इन्द्रबहादुर वली, मेलमिलाप परिषद्का सूचीकृत प्रशिक्षक डा. रामबृक्ष मण्डल र हरिबाबु श्रेष्ठले मेलमिलापले न्याय प्रणालीलाई छिटो, सुलभ र सर्वसाधारणमैत्री बनाउन सहयोग पुग्ने धारणा राखेका थिए ।
सहभागीका तर्फबाट हिरालाल वली र यामकुमारी सुनारले तालिमबाट कानुनी ज्ञानका साथै संवाद, सहमति र विवाद व्यवस्थापनका व्यावहारिक सीप हासिल गरेको अनुभव सुनाएका थिए । गाउँपालिकाको आयोजना, जुनकिरी नेपालको समन्वय तथा एसटी इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालन भएको तालिम मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रमका आधारमा सञ्चालन गरिएको थियो ।
गाउँपालिकाका अनुसार स्थानीय न्यायिक समितिलाई सबल बनाउँदै समुदायमा हुने घरायसी तथा देवानी प्रकृतिका विवादहरू ‘जित जित’को सिद्धान्तका आधारमा समाधान गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । समापन कार्यक्रममा वडा नं। १ का वडाध्यक्ष रविलाल बस्नेत, न्यायिक समिति सदस्य विष्णु वली राजी, योजना शाखा प्रमुख जयराम घर्ती, गैरसरकारी संस्था महासंघ नेपाल सल्यानका उपाध्यक्ष खडग शाही, पत्रकार शंकर केसी तथा उजुरी प्रशासक विजयकुमार वलीलगायतको सहभागिता रहेको थियो ।
वक्ताहरूले मेलमिलाप परिषद्बाट सूचीकृत प्रशिक्षकबाट प्रशिक्षण प्राप्त गरी प्रमाणपत्र हासिल गर्नु कानुनी र व्यावहारिक दुवै हिसाबले महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । तालिमपछि मेलमिलापकर्ताहरूले कानुनी मान्यता प्राप्त मध्यस्थकर्ताको रूपमा काम गर्न सक्ने र उनीहरूद्वारा सम्पन्न मेलमिलापले कानुनी वैधता प्राप्त गर्ने विश्वास व्यक्त गरिएको थियो ।
