सल्यान, जेठ २४ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुनः प्रकाश नेपाली सर्वसम्मत चयन हुनुभएको छ।
सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरा योगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन हुनुभएको छ ।
सदस्यमा प्रेमबहादुर चलाउने, रूपलाल बूढा, रमेशबहादुर वली, पुष्कर चलाउने, तुलसा खत्री, शेरबहादुर केसी, केशवराज केसी, राजु सुनार र रुद्रमणि शर्मा निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटनसत्रमा बोल्दै प्रतिनिधिसभा सदस्य खिमा विकले जनताको विश्वास अनुसार सुशासन, विकास र सेवामुखी कार्यसम्पादन मार्फत पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो।
सल्यानको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।रास्वपा कर्णाली प्रदेश उपसभापति प्रेम बोहराले प्राकृतिक स्रोतसाधनको सदुपयोग मार्फत कर्णालीको समृद्धि सम्भव रहेको बताउनुभयो ।
प्रदेश महामन्त्री ललित चन्दले रास्वपा सुशासन, सामाजिक न्याय र रूपान्तरणको अभियानका रूपमा अघि बढिरहेको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रास्वपाका नेता टोपेन्द्र केसी, केवल गिरी, हरि केसी, समीर न्यौपाने तथा रमेश गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।अधिवेशनमा जिल्लाभरबाट करिब २४० जना प्रतिनिधिको सहभागिता थियो ।
