सल्यान १०, भदौ ।
सल्यानको बागचौर नगरपालिका बाट राजस्व सम्बन्धि सम्पूर्ण काम अब अनलाइन सिस्टम बाट हुने भएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७८र०८९ बाट राजस्व सम्बन्धि कार्यहरुलाई अनलाइन सिस्टममा सञ्चालन गर्ने जनाएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच नगरपालिकाका १२ वटै वडाका वडा सचिव हरुलाई एक दिने अभिमुखीकरण तालिम प्रदान गर्दै नगरपालिकाले यस्तो व्यवस्था लागू गर्ने बताएको हो ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत तीर्थराज डाँगी तथा नगरपालिकाका राजस्व शाखा प्रमुख हेमन्त प्रकाश बस्नेतले उक्त अभिमुखीकरण तालिमलाई प्रशिक्षण प्रदान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी राम बहादुर हमालले नगरपालिकाले संचालन गर्न लागेको राजस्व सम्बन्धी को काम अनलाइनको सिस्टम बाट गर्दा व्यवस्थित र मर्यादित हुने बताउनुभयो।

अनलाइन सिस्टम बाट राजस्वको काम गर्दा राजस्व तिरेको अभिलेखहरु सुरक्षित हुने र कार्यालयमा आगलागी लगायतका भौतिक क्षति भएको खण्डमा समेत अभिलेखहरू अनलाइन सिस्टममा रहने हुँदा सुरक्षाका हिसाबले उपयुक्त भएको बताउनुभयो ।

साथै नगरपालिकाले प्रदान गर्ने राजस्व सेवाहरुलाई अनलाइनको सिस्टम बाट गर्ने हुँदा आर्थिक पारदर्शिता समेत रहने उहाँले बताउनुभयो ।

पछिल्लो समय देशमा बढिरहेको भ्रष्टाचार तथा आर्थिक अपारदर्शिता लाई कम गर्नका लागि समेत उक्त कार्य महत्वपूर्ण हुने उहाँको भनाइ रहेको थियो ।