इन्द्र बुढाथोकी असार २४,सल्यान ।
गाउँमै खानेपानी आएपछि बनगाड कुपिण्डे नगरपालिका – ३ का स्थानीयमा खसीयाली छाएको छ । वषौं देखि पानीको समस्या झेल्दै आइरहेका मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका स्थानीयमा लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी आएपछि खुसीयाली छाएको हो ।
घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको गौरी पुनले बताइन । गाउँमा यसरी खानेपानी आउँला भन्ने कहिले पनि नसोचेको तर आज आफ्नै आँखा अघि घरमै खानेपानी आएपछि निकै खुसी लागेको उनको भनाई छ । उनले भनिन ‘यस्तो डाँडोमा पनि कहाँबाट खानेपानी आउला र भन्ने लागेको थियो । हामीसँगै हाम्रा पछिका सन्ततिले पनि पानी बोकेरै दुःख काट्ने भए भन्ने लागेको थियो तर आफ्नै पालामा घरभित्र पानी खान पाइयो ।’
पहिले दैनिक २ देखि ३ घण्टा हिँडेर खानेपानीको लागि हिँडेर जानुपर्ने बाध्यता हटेको इन्द्र पुनले बताए । पानीकै लागि रातभर जाग्राम बस्नु पर्ने र पानीकै कारण समाजमा झैँ झगडा हुने गरेकोमा सबै दुःख र झगडा समेत खानेपानीले अन्त्य गरेको उनको भनाई छ । उनले भने ‘रातभर पानीको लागि जागराम बस्दा सर्प, जङ्गली जनावरको डर हुन्थ्यो , भिरबाट लड्ने उत्तिकै डर थियो तर गाउँमा खानेपानी आएपछि निकै सहज भएको छ ।’
संसद् विकास कोषको ५० लाख, कर्णाली प्रदेश सरकारको ५० लाख र बनगाड कुपिण्डे नगरपालिकाको २ करोड ७४ लाख गरी ३ करोड ७४ लाखको लागतमा लिफ्ट खानेपानी योजना सम्पन्न भएको मेयर गोविन्द पुनले बताए । लिफ्ट योजनाबाट खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ बरापोखराका १ सय ७६ घरधुरीका झन्डै १ हजार २ सय नागरिक प्रत्यक्ष लाभान्वित भएको उनको भनाई छ । गाउँबाट ४ सय २ मिटर टाढाबाट गाउँमा खानेपानी योजना सञ्चालन गरिएको इन्जिनियर महेश देवकोटाले बताए ।
