सल्यान, असार १२ गते । सल्यान जिल्लाका १० स्थानीय तहमध्ये ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेका छन्।
स्थानीय तहहरूले सार्वजनिक गरेको बजेट विवरण अनुसार सबैभन्दा बढी बजेट शारदा नगरपालिकाले ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३६ करोड १ लाख २६ हजार ५ सय १३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। त्यसैगरी बनगाड कुपिण्डे नगरपालिकाले ८० करोड ४६ लाख रुपैयाँ, बागचौर नगरपालिकाले ७७ करोड २३ लाख ७५ हजार ३ सय ३० रुपैयाँ, त्रिवेणी गाउँपालिकाले ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५ रुपैयाँ तथा कुमाख गाउँपालिकाले ५३ करोड ९७ लाख ५५ हजार ४५ रुपैयाँ बजेट ल्याएका छन्।
यस्तै छत्रेश्वरी गाउँपालिकाले ५३ करोड ७६ लाख ७९ हजार २३ रुपैयाँ, कपुरकोट गाउँपालिकाले ४६ करोड ५८ लाख रुपैयाँ, दार्मा गाउँपालिकाले ४२ करोड १७ लाख ६४ हजार २ सय १२ रुपैयाँ तथा सिद्धकुमाख गाउँपालिकाले ३९ करोड २९ लाख ६८ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका छन्। जिल्लाको कालिमाटी गाउँपालिकामा भने गाउँपालिका अध्यक्ष दुर्घटनामा परेका कारण निर्धारित समयमा बजेट सभा सम्पन्न हुन नसकेको र बजेट सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ।


स्थानीय तहहरूले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, खानेपानी पहुँच विस्तार, कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना तथा सडक लगायतका भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका छन्। बजेट कार्यान्वयन प्रभावकारी बनेमा स्थानीय नागरिकको जीवनस्तर उकास्न तथा समग्र जिल्लाको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।