सल्यान, ०७ जेठ ।
वनगाड कुपिण्डे नगरपालिका सल्यानमा १२ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित १४ वटा खानेपानी आयोजनाका १६ जनाले तालिम प्राप्त गरेका छन् । १६ जना सहभागीहरुमध्ये ३ जना महिला पनि रहेका छन् । सैद्धान्तिक तथा प्रयोगात्मक गरी १२ दिनसम्म सञ्चालन भएको तालिमको समापन वनगाड कुपिण्डे नगरपालिका वडा नं. १ मा रहेको अम्रा खानेपानी आयोजना स्थलमा गरिएको हो । तालिमकै क्रममा उक्त स्थानमा ५ घनमिटरको आर.भि.टि समेत निर्माण भएको छ ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो भने बनगाड कुपिण्डे नगरपालिका वास इकाईका प्राविधिक सहजकर्ता प्रदीप चन्दका साथै वास सहजकर्ताहरु दिर्खराज जोशी र सुरेन्द्र वि.क.ले पनि तालिम सहजीकरण गर्नुभएको हो । तालिमको समापन वनगाड कुपिण्डे नगरपालिकाका उप–प्रमुख पुरुषोत्तम आचार्यले गर्नुभएको थियो । समापन कार्यक्रमको अवसरमा बोल्दै आचार्यले भन्नुभयो, “ग्रामीण मर्मत सम्भार तालिमले खानेपानी आयोजनाहरु दिगो रुपमा संचालन गर्न ठूलो सहयोग गर्नेछ ।” उहाँले तालिममा सिकेको सिपले एकातिर खानेपानी आयोजनाहरुको सुचारुपनामा सहयोग पुग्ने र अर्कोतिर सिपयुक्त जनशक्तिलाई रोजगारीका अवसर बढ्दै जाने बताउनुभयो । ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिमबाट यसअघि निर्माण भैसकेका र अब निर्माण हुँदै गरेका खानेपानी आयोजनाहरु समेत दिगो बनाउन मदत गर्ने अपेक्षा गरिएको छ । उक्त तालिमले सानोतिनो मर्मत कार्य मात्र गर्न सिकाएको नभै नयाँ आरभिटि तथा अन्य संरचनाहरु समेत निर्माण गर्न सक्ने ज्ञान, सिप र उत्प्रेरणा प्रदान गरेको छ । यस तालिमबाट आफूहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको सहभागीहरुको भनाई रहेको थियो । तालिम समापनको अवसरमा आफ्ना भनाई राख्दै वास संयोजक गोविन्द प्रसाद शर्माले तालिमहरु केवल तालिमका लागि मात्रै नभै उपलब्धीमूलक बनाउने प्रयाश भईरहेको जानकारी दिनुभयो ।
१२ दिन सम्म चलेको सो तालिममा १० दिन प्रयोगात्मक भएको थियो । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको सभाध्यक्षतामा बैशाख २६ गते तालिमको शुभारम्भ भएकोमा जेष्ठ ६ गते तालिम समापन भएको हो । तालिम समापन कार्यक्रममा वडा जनप्रतिनिधि, वास इकाई कर्मचारी, आयोजना स्थलका उपभोक्ता समितिका पदाधिकारीहरुलगायतको सहभागीता रहेको थियो भने समापन कार्यक्रमको सहजीकरण वास सहजकर्ता निम प्रसाद बुढाले गर्नुभयको थियो ।