नेपालको सन्दर्भमा सत्ताको भोकले राजनैतिक दलको सिद्धान्त नै गुमनाम हुने गरेको छ । देश र जनताको सर्वोत्तम हित भन्ने जुन प्रकारको सिद्धान्त हुनुपर्ने थियो, त्यो कुरा व्यबहारिक रुपमा देख्न सकिदैन । नेपालमा राणाशासन त जहाँनिया थियो नै, त्यसभन्दा पछाडि पनि परिवारवादमै नेतृत्व र व्यवस्था अल्झिएको छ । त्यसबाहेक प्रजातन्त्रले शासक वर्गको अघिपछि हिड्नेहरुका लागि थप केहि राहत गर्यो । तर लामो समयदेखि समग्र नागरिकहरुको हितमा राज्य व्यवस्था बन्नै सकेन । मुलुकको समृद्धि र अग्रगमनका सन्दर्भमा जुन किसिमले गति लिनुपर्दथ्यो लिनै सकेन । विश्वमा विकास भएको औद्योगिकिकरण र सञ्चारको विकासका कारण भएको विश्वव्यापिकरणको प्रभावले विगतको तुलनामा वर्तमान त त्यसै पनि आधुनिक छ नै । तर विश्वका देशहरुले जसरी विकास गरेका छन्, जसरी आर्थिक उन्नती गरेका छन्, त्यस प्रकारले नेपाल अगाडि बढ्नै सकेको छैन । यसको प्रमुख कारण नेतृत्वको स्वार्थ नै हो ।
सत्ता र शक्तिमा पुगेपछि मान्छे झन अन्धो हुँदोरहेछ । सधैंभरी मैं शक्तिशाली बन्नेछु भन्ने सोच हुँदोरहेछ । के गर्नुपर्ने र के नगर्नुपर्ने पनि थाहा हुदो रहेनछ । को आफ्नो र को विरानो भन्ने पनि थाहा नहुदो रहेछ । आफूलाई महान देख्ने र अरुलाई केहि पनि होइनन् भन्ने सोच विकास भएका कारण शासनसत्ता पनि अल्पकालिन हुने गरेको छ । सर्वहारा वर्गको हितका लागि भनेर सरकारले अरबौंको ऋण लिने गरेको छ, तर सर्वहारा वर्गले लाभ लिन सकिरहेको छैन । नागरिकहरुको समस्या एकातिर र सत्ता सञ्चालकहरुको गतिविधि अर्कोतिर भएपछि सरकार अलोकप्रिय हुने र चाँडै पतन हुने गरेको छ ।

नेपालमा २००७ सालमा राणाशासन समाप्त भएर प्रजातन्त्र उदय भएको र पटक पटक संविधान संसोधन हुँदा पनि मुलुकमा स्थीर सरकार हुन सकेको छैन । या त विदेशीहरुको प्रभाव हो, या त अबुझ नागरिकहरुका कारण हो, अपवाद्बाहेक कुनै पनि सरकार पुरा अवधि चल्न सकेको छैन । प्रजातन्त्र र लोकतन्त्र आएपछि पनि राजनैतिक दलले निर्वाचनताका जुन सिद्धान्त र घोषणापत्र सार्वजनिक गर्ने गरेका छन्, त्यो केवल कागजमा मात्र हुने गरेको छ । जसरी हुन्छ अरुको सरकार ढालेर आफ्नो सरकार बनाउने र आफ्नो सरकार बनिसकेपछि कसरी टिकाउने भन्ने सोचका कारण योजनाबद्ध रुपमा देशको समग्र विकासमा ध्यान पुग्न सकेको देखिदैन । छोटो सोचका कारण झनै अस्थिर सरकार बन्ने गरेको छ । सत्तामा पुगिसकेपछि आफूले गरेका बाचा र दीर्घकालिन योजना कार्यान्वयनमा ध्यान दिएको देखिदैन । यसरी सत्ताको भोकले राजनैतिक दलको सिद्धान्त नै गुमनाम हुने गरेको छ ।