सल्यान, २७ श्रावन । सल्यानको कपुरकोट गाउँपालिमा हराभरा कपुरकोट बजार अभियानको सुरुवात गरिएको छ । कपुरकोट बजार ब्यबस्थापन समितिले बजारका प्रमुख चोकहरुमा डस्टबीन राखेर अभियानको सुरुवात गरेको हो । कपुरकोट बजारलाई सरसफाईका माध्यमबाट सुन्दर बनाई बजारमा मानिसहरुको ध्यान केन्द्रित गर्न बिभिन्न सहकारी संस्थाको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने डस्टबीन राखिएको छ । बजार व्यवस्थापन समितिको अनुरोधमा साना किसान कृषि सहकारी संस्था,कपुरकोट कृषि सहकारी संस्था,नारी बिकास बचत तथा ऋण सहकारी संस्था र चेतना सामाजिक उद्यमी सहकारी संस्थाले उपलब्ध गराएको २८ वटा डस्टबीन राखिएको बजार ब्यबस्थापन समितिका अध्यक्ष कुबेर केसीले जानकारी दिनुभयो । सरसफाई गरेर शनिबारबाट हराभरा कपुरकोट बजार अभियान सुरु गरेको बजार ब्यबस्थापन समितिले अबको केही दिनमा प्रत्येक पसल, कार्यालय तथा चोकहरुमा फुलको गमला राखेर फुलै फुलको बजार बनाउने पनि योजना बनाएको छ । त्यस अघि नेपाल प्रहरी, गाउँ प्रहरी र बजार व्यवस्थापन समितिले बजार क्षेत्रमा अब्यस्थित रुपमा सञ्चालन गरिएका पसल, सडकमा राखिएका सामान, टाँसिएका, झुण्डाईएका होर्डिङ बोर्ड, ब्यानर लगायतको सामाग्रीको व्यवस्थापन गरिने अध्यक्ष केसीको भनाई छ । हराभरा कपुरकोट बजार अभियानको सुरुवात गर्दै कपुरकोट गाउँपालिका कार्यबाहक अध्यक्ष प्रकाश भण्डारीले कपुरकोटलाई केन्द्र बनाएर मुनाफाका लागि व्यवसाय गर्नेहरुले सामाजिक उत्तरदायित्व पनि बहन गर्नु पर्ने बताउनुभयो ।
कपुरकोट क्षेत्रमा बिभिन्न ब्यबसाय गर्नका लागि धेरै पसल तथा कार्यालयहरु सञ्चालनमा छन् । ति सबैले कपुरकोटको सामाजिक कार्यमा साथ दिनु पर्दछ । ‘कपुरकोट गाउँपालिकाले जागरण कपुरकोट अभियान मार्फत बिभिन्न सार्बजनिक काम गर्दै आएको छ । सरसफाई पनि जागरण कपुरकोटको एउटा स्वरुप हो । ’उँहाले भन्नु भयो—यस्तै किसिमका सार्बजनिक कार्यक्रम मार्फत सामाजिक कार्य गर्ने नगर्ने कार्यालयहरुको परिक्षण र मुल्याङ्कन हुन्छ । हरभरा कपुरकोट बजार सुरुवात कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष डम्बर बहादुर एरी,कपुरकोट कृषि सहकारी संस्थाका अध्यक्ष मधुसुदन गिरी,कपुरकोट कृषि उपज बजारका अध्यक्ष तिलक शर्मा,बनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा।मित्र पाठक, ३ नम्बर वडा अध्यक्ष प्रदिप खड्का लगायतकाले सरसफाई नै बजारको प्रमुख गहना भएको जनाउदै बजार व्यवस्थापन समितिले सञ्चालन गर्ने अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो ।।
