सल्यान, २२ श्रावन ।
सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत प्राविधिक सहजकर्ताहरुको लागि सात दिने तालिम बनगाड कुपिण्डे नगरपालिकामा सोमबार सम्पन्न भएको छ । तालिममा डोल्पा, हुम्ला र सल्यान गरी तीन जिल्लाका छ वटा पालिकामा कार्यरत इन्जिनियर, सव इन्जिनियर र सुस्वा परियोजनाका प्राविधिक सहजकर्ताहरुको सहभागिता रहेको थियो । परियोजना सञ्चालन भएका पालिकाहरु सल्यानका सिद्ध कुमाख र छत्रेश्वरी गाउँपालिका साथै बनगाड कुपिण्डे नगरपालिकाबाट प्राविधिकहरुको सहभागिता थियो । त्यसैगरी डोल्पाको त्रिपुरा सुन्दरी र हुम्लाको नाम्खा तथा खार्पुनाथ गाउँपालिकाबाट तालिममा सहभागिता थियो । तीन जिल्लाबाट १८ जनाको सहभागिता रहेको तालिम साउन १६ मा शुभारम्भ भइ २२ गते समापन गरिएको छ । नगर उपप्र्र्रमुख पुुुरुषोत्तम आचार्यको अध्यक्षतामा शुरु भएको तालिमको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बहादुुुर घर्ति, पालिकाका इन्जिनियर महेश देवकोटा, प्रशिक्षक नारायण सिंह खवास, विशेष अतिथि सुस्वा परियोजनाका टिम लिडर मारियो मिलेमेसी समेतले आफ्ना भनाई राखेका थिए । समापन कार्यक्रमा सहभागिको तर्फबाट बोल्ने बक्ताहरुले तालिम अत्यन्तै महत्वपूर्ण भएको र नयाँ कुराहरु सिक्ने अवसर पाएको बताए । साथै तालिम अवधि सात दिन पनि कम भएको भन्दै फेरी पनि सवैलाइ पाएक पर्ने गरी पुनर्ताजगी तालिमको आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताए । विशेष अतिथि मारियोले यस तालिममा सिकेका कुराहरुले दूर दराजका बस्तीहमा काम गर्न सहयोग पुग्ने बताए । नयाँ प्रविधिको माध्यमबाट ‘खानेपानी आयोजना सर्भे, डिजाईन र स्टिमेट गर्ने तरिकाहरु बारे दिएको तालिमबारे आफ्ना भनाइ राख्दै प्रमुख प्रशासकीय अधिकृत घर्तिले संसारभर नै निर्माणको क्षेत्रमा इन्जिनियर र प्राविधिकहरुको महत्वपूर्ण भूमिका रहने बताए । त्यसैगरी समापनको क्रममा मन्तव्य राख्दै नगर उपप्रमुख आचार्यले तालिममा सिकेका कुराहरु र ज्ञान कार्यक्षेत्र र ब्यबहारमा उतार्न सक्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारेका छन् । त्यसै गरी तालिम समापनको क्रममा पालिकाले अतिथि तथा प्रशिक्षकहरुलाई सम्मानसहित विदाई गरेको छ ।
तालिम सहजीकरण तथा प्रशिक्षणका लागि वास सल्लाहकार भिम बास्तोला, थरेन्द्र पौडेल संगै अर्जुन राजलवट र नारायण सिंह खवास लगायतका विज्ञ ब्यक्तित्वको सहभागिता रहेको थियो ।