सल्यान, १६ श्रावन ।
सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत प्राविधिक जनशक्ति (प्राविधिक क्षेत्रका कर्मचारीहरु) कालागि सातदिने तालिम बनगाड कुपिण्डे नगरपालिकामा मंगलबारदेखि शुरु भएको छ । तालिममा डोल्पा, हुम्ला र सल्यान गरी तीन जिल्लाका छ वटा पालिकामा कार्यरत इन्जिनियर, सव इन्जिनियर र सुस्वा परियोजनाका प्राविधिक सहजकर्ताहरुको सहभागिता रहेको छ । परियोजना सञ्चालन भएका पालिकाहरु सल्यानका क्रमशः सिद्ध कुमाख, छत्रेश्वरी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका तथा डोल्पाको त्रिपुरा सुन्दरी र हुम्लाको नाम्खा तथा खार्पुनाथ गाउँपालिकाबाट तालिममा सहभागिता रहेको छ । तीन जिल्लाबाट १८ जनाको सहभागिता रहेको तालिम साउन १६ गतेदेखि २२ गते सम्म चल्ने छ । प्रभावकारी सिकाईको लागि र आगामी दिनमा आउन सक्ने समस्याहरु सजिलै हल गर्नका लागि प्रयोगात्मक अभ्यास पनि गरिने भएको छ । नयाँ प्रविधिको माध्यमबाट ‘खानेपानी आयोजना सर्भे, डिजाईन र स्टिमेट गर्ने तरिकाहरु बारे तालिम दिईने जानकारी प्राविधिक विशेषज्ञ नारायण सिंह खवासले दिनुभएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीको सभाध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटाले समेत आफ्ना भनाई राख्नुभएको थियो । मन्तव्यको क्रममा परियोजनाबाट यहाँका नागरिकले खानेपानीको क्षेत्रमा बढी अपेक्षा गरेकोले आगामी दिनमा आउने बजेटको आकार बढ्नुपर्ने र यसलाई सफलता पूर्वक कार्यान्वयन गर्न सवैको भूमिका सकारात्मक एबं प्रभावकारी हुनुपर्ने भनाई रहेको छ । तालिमको सहजीकरण तथा प्रशिक्षणका लागि वास सल्लाहकार पवनकुमार वली, राजकुमार डिसी, भिम बास्तोला, थरेन्द्र पौडेल संगै अर्जुन राजलवट र नारायण सिंह खवास रहनुभएको छ ।